धनकुटामा श्रीमतीमाथि दाउ प्रहार गर्ने श्रीमान् पक्राउ
धनकुटा । धनकुटामा घरायसी विवादका क्रममा श्रीमतीमाथि धारिलो हतियार (दाउ) प्रहार गरी घाइते बनाएको आरोपमा श्रीमान् पक्राउ परेका छन्।
धनकुटा नगरपालिका–६ पाङसिङका ४९ वर्षीय डम्बरबहादुर कार्कीले कात्तिक १० गते दिउँसो करिब १२ बजे मादक पदार्थ सेवन गरी घरायसी विवादका क्रममा आफ्नी ४५ वर्षीया श्रीमती तारा बस्नेत (कार्की) माथि दाउ प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
दाउ प्रहारबाट ताराको बायाँ हातको कान्छी औँला काटिएको छ भने टाउको र घाँटीको पछाडिको भागमा समेत चोट लागेको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक रामप्रसाद खनालको कमाण्डमा प्रहरी टोली खटिएको थियो। खोजतलासका क्रममा प्रहरीले दिउँसो करिब २ः४५ बजे धनकुटा नगरपालिका–६ गोलाईबाट भाग्दै गरेको अवस्थामा डम्बरबहादुरलाई पक्राउ गरेको हो।
घाइते ताराको जिल्ला अस्पताल धनकुटामा सामान्य उपचारपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका डम्बरबहादुरमाथि जिल्ला प्रहरी कार्यालय धनकुटाले थप अनुसन्धान गरिरहेको छ।


