यी चेपाङ युवाको जहाज उडाउने सपना, जहाजमा अब इन्जिन राख्न मात्र बाँकी

चितवन, चितवन राप्ती नगरपालिका–२, गड्यौलीका सरोज चेपाङ अहिले जहाज बनाउन व्यस्त छन् । औपचारिक शिक्षा कक्षा ५ पास उनी परिवारको आर्थिक अवस्था सामान्य रहेको बताउँछन् । औपचारिक शिक्षा कम भएपनि तेज दिमागका कारण प्राविधिक क्षेत्रमा उनी अघि बढिरहेका छन् ।

पढाइ छाडेपछि उनले ग्यारेजमा काम गर्न थाले । त्यहाँ गाडी बनाउँदै गर्दा सानो प्लेन र हेलिकप्टर बनाएर व्याट्रीमार्फत उडाउन थाले । परिणाम स्वरुप अहिले उनी आफू सहित दुई जना चढ्न मिल्ने जहाज बनाइरहेका छन् । जहाजमा अब इन्जिन राख्न मात्र बाँकी छ । हावाको वहन मिलाउने पंखा र अन्य आवश्यक सामान जडान भइसकेको छ । स्टील, स्कुटरको टायर, मोटरसाइकलको ब्रेक र क्लजलगायत सामाग्री जहाजका कच्चा पदार्थ बनेका छन् ।

निर्माण कार्य सकिँदा करिब डेढ क्वीन्टलको जहाज बन्ने र २० दिनभित्र उडाएर देखाउने सरोजको दावी छ । जहाजभन्दा पहिले प्याराग्लाइडिङ उडाउने उनको तयारी छ । सरोजले आँटेको काममा परिवारको पनि उस्तै साथ छ ।

करिव २ महिनाकै अन्तरालमा आफूले धेरै काम सकिसकेको उनले बताए । काम ६ महिना अघि सुरु गरेपनि निरन्तर पानी परेकाले पछिल्लो २ महिनामा कामले रफ्तार पाएको उनी बताउँछन् । जहाज बनाउनका लागि उनले कच्चा पदार्थ, काठमाडौं, नारायणगढ र विरगंजदेखि ल्याउने गरेका छन् । निरन्तर यसै काममा लागेको बताउँदै सरोजले भने,‘जहाज र प्यारासुट बनाएर आकाशमा उडाएर देखाउँछु ।’ प्यारासुटका लागि आवश्यक सामान लिन उनी शुक्रबार पोखरा जाँदैछन् ।

मोटरसाइकल, कार र अन्य ठूला गाडी पनि आफूले बनाउन सक्ने उनी बताउँछन् । गाडी चलाउनदेखि, वेल्डिङ, वाएरिङका काम समेत उनले जानेका छन् । उनले बनाउँदै गरेको प्लेन हेर्नकै लागि अहिले दैनिक करिब २ सय जना आउने गरेका छन् । केही गर्छु भनेपछि इच्छाविपरीत जान नसक्ने भन्दै घर बनाउने पैसा सबै जहाज बनाउन खर्च गरेको उनले बताए । काठमाडौंबाट पाइलट र ईञ्जिनियर आएर प्लेन निर्माणको काम हेरेर शुभकामना दिई गएको उनी बताउँछन् ।

जहाज बनाउन हालसम्म ५ लाख खर्च भइसकेको र अब २ लाख लाग्ने उनले बताए । यस अघिका सबै खर्च विदेशबाट बुवाले पठाइदिएका हुन्, सरोज भन्छन्,‘अब लाग्ने पैसा पाए सहयोग लिन्छु नत्र बुबाले मै दिउँला भन्नु भा’छ ।’ बुवा कतारमा गाडी चलाउँछन् ।

विदेश जाँदा जहाज चढें
२ वर्ष अघि बैदेशिक रोजगारका लागि साउदी पुगेका उनी खासै राम्रो नभएपछि ५ महिनामै घर फर्केका थिए । ‘पहिलो पटक जहाज दुवइ जाने क्रममा चढेँ, उनले भने । ‘अहिले आकाशमा भरतपुर काठमाडौं जाने जहाज उडेको हेर्छु,’ उनले भने,‘गाउँलेहरु आउँछन्, मेरो काम हेर्छन् अनि यो बौलाहा भएछ भन्छन् ।’- दिपेन्द्र अधिकारी / नयाँ पत्रिका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।