एमाले – माओवादी एकता बैठक भइरहेको मानभवनस्थित घरका मालिक अधिकारी को हुन् ?

माओवादीसँग पार्टी एकताबारे निर्णय गर्न एमालेले आज, २ फागुन अपराह्न स्थायी कमिटीको आकस्मिक वैठक डाक्यो । स्थायी कमिटीको बैठक डाकिएको स्थान भने पार्टी मुख्यालय धुम्बाराही नभएर मानभवनस्थित एक निजी महल थियो ।

पार्टी एकताबारे केपी शर्मा ओली र पुष्पकमल दाहालबीच यही घरमा छलफलका शृंखला चलिरहेका छन् । १ र २ फागुनमा पनि दुई शीर्षस्थबीच यही घरमा छलफल भए । आजै पार्टी एकता संयोजन समितिको बैठक पनि यहीँ बस्ने तयारी छ ।

दुई कम्युनिष्ट पार्टीको एकता गराउने असाध्यै महत्वपूर्ण वैठक पार्टी कार्यालयमा नभएर निजी घरमा भइरहेको छ, आखिर त्यो घर कसको हो त ?
नुवाकोट चोकते मुलघर भएका निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको घर हो यो ।

यसअघि, माओवादी एकता प्रकृयाको वैठकसमेत अधिकारीको यही घरमा बस्ने गरेको थियो । दाहाल पुत्र स्वर्गीय प्रकाशले वीना मगरलाई मानभवनस्थित यही घरमै भित्र्याएको स्रोत बताउँछ ।

शैलुङ कन्स्ट्रक्सन प्रालिका प्रोप्राइटर रहेका अधिकारी माओवादी अध्यक्ष पुष्पकमल दाहालका असाध्यै नजिकका मानिन्छन् ।

अधिकारीकै नाममा रहेको ललितपुरको खुमलटारस्थित भव्य बंगलामा दाहाल गत पुस पहिलो साता डेरा सरेका थिए ।

अधिकारीले दाहालको आर्थिक कारोबार मात्र नभै घरायसी व्यवहारमा समेत सहयोग गर्ने गरेको अधिकारीनिकट स्रोत बताउँछ ।

निर्माण व्यवसाय शुरु गर्नुअघि काठमाडौंको भोटाहिटीमा कम्प्युटर इन्स्टिच्युट खोलेका अधिकारीको माओवादी शान्ति प्रकृयामा आएसँगै व्यवसायिक विस्तार भएको हो ।

२०५० को दशकको शुरुवातमा अधिकारीले भोटाहिटीको साझा भवनको तेस्रो तल्लामा नेपाल कम्प्युटर सेन्टर चलाएका थिए ।

नुवाकोटको वागेश्वर–३, चोकते घर भएका सामान्य आर्थिक हैसियतका अधिकारीले पछिल्लो डेढ दशकयता उच्च आर्थिक हैसियत बनाएका हुन् ।

उनका ससुरा सिन्धुलीका कमल देवकोटा र साली निर्मला देबकोटा दुबैले माओवादी युद्धका क्रममा ज्यान गुमाएका थिए । -हिमालखबरबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।