पर्सामा सात लाख मूल्य बराबरका अवैध पटाका र विस्फोटक पदार्थ नष्ट
रौतहट १८ कात्तिक । जिल्ला प्रहरी कार्यालय पर्साले अवैध रूपमा भित्र्याइएका करिब ७ लाख रुपैयाँ मूल्य बराबरका पटाका, आतिशबाजी तथा अन्य विस्फोटक पदार्थ नष्ट गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका प्रहरी इकाइबाट खटिएका विभिन्न चेकिङ टोलीले जिल्लाका विभिन्न स्थानबाट फरक–फरक मिति र समयमा ती विस्फोटक सामग्री नियन्त्रणमा लिएका थिए।
प्रहरीले बुधबार बिहान ११ बजे जिल्ला प्रहरी कार्यालय परिसरमा सञ्चारकर्मीहरूको उपस्थितिमा खाल्डो खनेर त्यसमा पानीसमेत राखी पुरेर उक्त सामग्री नष्ट गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लले विज्ञप्ति जारी गर्दै अवैध रूपमा भित्र्याइएका पटाका, आतिशबाजी तथा अन्य विस्फोटक पदार्थ नष्ट गरिएको जानकारी दिएका हुन्।
चाडपर्वका समयमा अवैध रूपमा पटाका तथा विस्फोटक सामग्री भित्र्याउने र बिक्री वितरण गर्ने गतिविधि नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले निगरानी तथा चेकजाँचलाई तीव्र बनाएको छ।


