ओली नेतृत्वको नयाँ सरकार बनेकै दिन नेपाली पुँजी बजार उकालो लाग्यो
काठमाडौं, ३ फागुन । केपीशर्मा ओली नेतृत्वको नयाँ सरकार बनेकै दिन नेपाली पुँजी बजार दाहेहारो अंकले उकालो लागेको छ । सेयर बजारलाई प्रभावित पार्ने प्राविधिक तथा आधारभूत पक्षहरु यथावत रहेको बेला राजनीतिक परिवर्तनको प्रभाव शेयर बजारमा देखिएको हो ।

ओलीको नेतृत्वमा नयाँ सरकार बनेकै दिन पुँजी बजार २ दशमलव ५९ प्रतिशतले उकालो लागेको हो । बिहिबार ३६ दशमलव ०१ अंकले बढेर १४२४ दशमलव ९५ अंकमा उक्लिएको छ ।
शेयर बजार मापक सूचकसँगै कारोबार रकमसमेत बढेको छ । माघ लागे यता कारोबार रकम ५० करोड रुपैयाँ नाघ्न नसकेको बजारमा बिहीबार ६६ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ओली नेतृत्वको पहिलाको सरकारको पालामा नेप्सेले सर्वाधिक उचाई लँदै नेप्से परिसूचक १८८१ अंकसम्म पुगेको थियो ।
बजारमा सबैभन्दा धेरै कुमारी बैंकको तीन करोड ४८ लाख रुपैयाँको कारोबार भयो। कारोबारमा आएका सबै उपसूचक बढेका छन् । बैंक ३१ दशमलव ३९, ट्रेडिङ ५ दशमलव ९९, होटल २२ दशमलव ९६, विकास बैंक ५५ दशमलव ५, जलाविद्युत ४९ दशमलव ०४, फाइनान्स १७ दशमलव ५५, बीमा २१३ दशमलव ९५, उत्पादनमूलक ५० दशमलव ७५, अन्य ७ दशमलव ३६ र लघुवित्त ६२ दशमलव ९१ अंकले बढेका छन् ।
बिहिबार इन्भेस्टमेन्ट फाइनान्सका शेयरधनीले सबैभन्दा धेरै ९ दशमलव ८२ प्रतिशत कमाएका छन् । एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्ड १ ले सबैभन्दा बढि करिब चार प्रतिशत गुमाए ।


