राजश्वको दायरामा आउन व्यापारीलाई प्रमुख रजकको आग्रह, कर शिक्षा अभियान चलाइने

सञ्जय मिश्रा/सिमरा, ११ कात्तिक। आन्तरिक राजश्व कार्यालय सिमराका प्रमुख उपसचिव विकास कुमार रजकले बारा र रौतहटका व्यापारी तथा व्यवसायीलाई कानुनअनुसार व्यवसाय दर्ता गरी करको दायरामा आउन आग्रह गरेका छन्। उनले करसम्बन्धी समस्या समाधान गर्दै व्यवसायीलाई सहज रूपमा सेवा उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाएका छन्।

हालै कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका रजकले न्युज कारखानासँग कुरा गर्दै बजार अनुगमनका क्रममा पसल बन्द गरेर भाग्नुभन्दा कानुनसम्मत रूपमा फर्म तथा व्यावसायिक प्रतिष्ठान दर्ता गरी कारोबार गर्न व्यापारीलाई आग्रह गरेका हुन्।

उनका अनुसार विगतमा विभिन्न झन्झट र हैरानीका कारण कतिपय व्यवसायी चाहेर पनि मूल्य अभिवृद्धि कर (भ्याट) लगायत कर प्रणालीको दायरामा आउन नसकेको अवस्था छ। अब त्यस्ता समस्या दोहोरिन नदिने र व्यवसायीलाई आवश्यक सहजीकरण गर्ने उनको भनाइ छ।

कार्यक्षेत्रअन्तर्गतका बजारमा अनुगमन गर्न जाँदा आसपासका पसलसमेत बन्द हुने गरेको उल्लेख गर्दै रजकले कानुनअनुसार कारबाही गर्न सकिने भए पनि व्यवसायीलाई सुधारको अवसर दिन आफूहरू तत्पर रहेको बताए।

तिहारअघि नै कर शिक्षा अभियान

व्यापारी तथा व्यवसायीलाई करसम्बन्धी जानकारी दिन आन्तरिक राजश्व कार्यालय सिमराले विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ। तिहारअघि नै बारा र रौतहटका प्रमुख बजारमा पुगेर व्यवसायीसँग प्रत्यक्ष छलफल गर्ने योजना रहेको कार्यालय प्रमुख रजकले जानकारी दिए।

करसम्बन्धी जानकारी लिन चाहने व्यवसायीले कार्यालयको वेबसाइट हेर्न वा सूचना अधिकारी रवि श्रेष्ठलाई ९८५५०२५८७४ नम्बरमा सम्पर्क गर्न सक्नेछन्।

यसअघि जिल्ला भन्सार कार्यालय गौरको प्रमुखको जिम्मेवारीमा रहेका उपसचिव रजक गत असोज २९ गते त्यहाँबाट बिदा भएका थिए। असोज २३ गतेको निर्णयअनुसार सरुवा भएका उनी कात्तिक ९ गते सोमबार आन्तरिक राजश्व कार्यालय सिमरामा हाजिर भई कार्यभार सम्हालेका हुन्।

गौर भन्सार कार्यालयको प्रमुख रहँदा रजकको कार्यकालमा आर्थिक वर्ष २०८२/०८३ मा वार्षिक लक्ष्यभन्दा ४१.४१ प्रतिशत बढी राजश्व संकलन भएको थियो। त्यस्तै, लामो समयदेखि भन्सार परिसरमा थन्किएका पुराना तथा नयाँ सवारीसाधन र विभिन्न मालवस्तुको समयमै लिलाम बढाबढ प्रक्रिया अघि बढाउन पनि उनी सफल भएका थिए।

बारा र रौतहटका व्यवसायीलाई कर प्रणालीमा आबद्ध गराउँदै राजश्व संकलन बढाउने र करदातालाई सहज सेवा उपलब्ध गराउने विषयलाई आफ्नो प्राथमिकतामा राखेको कार्यालय प्रमुख रजकले बताएका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖