‘म बनाउँछु मेरो खेल मैदान’ मा दातावाट सहयोग जुट्दै
धनकुटा खबर । खेल मैदान निर्माण गर्न सामाजिक सञ्जाल ‘फेसवुक’ लाई माध्यम बनाएर सुरु गरिएको ‘म बनाउँछु मेरो खेल मैदान’ अभियानमा दाताहरुबाट सहयोग जुट्न थालेको छ ।

सो अभियान वारे विभिन्न सञ्चार मिडियामा समाचार सम्प्रेषण तथा प्रशारण भएपछि खेल मैदान निर्माण गर्न आर्थिक सहयोग जुटिरहेको खेल मैदान निर्माणको व्यवस्थापन गरिरहेको सिँधुवा सिंहदेवी युथ क्लवका अध्यक्ष दिवेश खड्काले बताए ।
उनका अनुसार अहिलेसम्म ४५ जना दाताबाट .४ लाख १० हजार रुपैया संकलन भइसकेको छ । सहयोग जुट्ने क्रम अझै जारी छ ।
पूर्वफुटबलर लक्ष्मीनारायण श्रेष्ठको अगुवाइमा सामाजिक सञ्जाल फेसवुकमा ‘म बनाउँछु मेरो खेल मैदान’ अभियानबाट सहयोग जुटाएर खेलमैदान निर्माण कार्य सुरु गरिएको हो ।
सिँधुवा बजारस्थित सरस्वती माध्यमिक विद्यालयको १५ रोपनी जग्गामा अहिले धमाधम खेलमैदान निर्माण भइरहेको छ ।
खेल मैदान सम्याउन मात्रै १० लाख रुपैया बजेट आवश्यक छ । सामाजिक सञ्जालको अभियानबाट १० लाख रुपैया सहयोग जुटाउने लक्ष्य लिइएको अगुवाइकर्ता श्रेष्ठले बताए ।


