के होला घरघरमा ग्यासको पाइप जोड्ने ओलीको सपना ?
काठमाडौँ । प्रधानमन्त्री ओलीले २४ पुस ०७२ मा पाइपलाइन जोडेर घरघरमा ग्यास पुर्याइदिने घोषणा गरेका थिए ।
एमालेको राजधानी विशेष समन्वय कमिटीको भेलालाई सम्बोधन गर्दै उनले ग्यासको सिलिन्डर बोकेर सडकमा दौडने युगको अन्त्य गरिदिने बताएका थिए । तर, दुई वर्ष बितिसक्दासमेत ग्यास उत्खनन हुन सकेको छैन । ललितपुरको इमाडोल र टेकुमा ग्यास उत्खननको प्रयास गरिएको थियो । तर, इमाडोलमा गरिएको ड्रिल (प्वाल परिएको) बाट पर्याप्त ‘फ्लो’ ननिस्किएकाले उत्खनन सफल हुन सकेन ।
अहिले फेरि खानी तथा भूगर्भ विभागले ग्यास उत्खननका लागि प्रक्रिया अघि बढाएको छ । टेकु–७ काठमाडौंमा ग्यास उत्खनन तथा उत्पादनका लागि विभागले अघिल्लो महिना बल्ल टेन्डर आह्वान गरेको छ । विभागले गत १२ माघमा सूचना निकालेर ड्रिलिङ तथा परीक्षण उत्पादनका लागि टेन्डर गरेको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
दुई दशकअघि जापान अन्तर्राष्ट्रिय सहयोग नियोगको सहयोगमा विभागले काठमाडौं उपत्यकामा ग्यासको अन्वेषण गरेको थियो । अन्वेषणबाट काठमाडौं उपत्यकाको २६ वर्गकिलोमिटरभित्र ३१ करोड ६० लाख क्युबिक मिटर मिथेन ग्यास रहेको देखाएको थियो । मिथेन ग्यास सिलिन्डरमा भर्न मिल्दैन । यो पाइपबाट सीधै घरघरमा जोडेर उपयोग गर्ने हो । – सडकमिडियाबाट


