कृषकले गाई बेचेर गाडी किन्न थालेपछि दुधको अभाव : ‘छुर्पी र चिजको माग धान्न गाह्रो भो’
धनकुटा खबर । संखुवासभा । ‘दुध नपाएर सामान छैन सर !, कस्टमर रिसाएर हैरान छ’, यो गुनासो संखुवासभा तामाफोक गाबिसका मेन्छायायेम कृषि उद्योग प्रालीका सन्चालक तेजिन्द्र लिम्बुको हो ।
दुग्धजन्य उत्पादनका लागि २०७१ सालमा डेढ करोडको लगानीमा सन्चालित उनको उद्योगले चिज र छुर्पीको बजार माग धान्न नसकेपछि दुग्ध उद्योगी लिम्बुले यस्तो गुनासो गरेका हुन् ।

फोटो: सुकाएको छुर्पी चिज,घ्यू देखाउँदै सन्चालक तेजिन्द्र लिम्बु । उद्योगमा छुर्पी काट्दै कामदार र तेजिन्द्र लिम्बु
प्रारम्भमा चिज मात्र उत्पादन गरेर काडमाण्डौको बजारमा सप्लाई गरेर उद्योग क्रमश फस्टादो रहेपनि पछिल्लो समयमा बैशाख १२ को भुकम्प र त्यपछिको नाकाबन्दिका कारण बजार लथालिंग भएपछि यस्तो अबस्था सिर्जना भएको ५४ बर्षिया लिम्बु बताउँछन् ।
लिम्बुका अनुसार उक्त समयमा चिज नबिकेर कुहिएपछि उद्योगलाई एक लाख ५० हजार घाटा लागेको थियो ।
यसरी बजार अभाव भएपछि उनले दुधको खपत गर्न थोरै चिज र धेरै छुर्पी बनाउन थालेका थिए । तर स्थिति सामान्य भएपछि अहिले दुबै बस्तुको माग अत्याधिक भएका कारण बजारको माग पुरा गर्न ज्यादै गाह्रो भएको लिम्बुको भनाई छ ।
‘त्यो बेला सामान नबिकेर हैरान थियो’, उनले भने,‘अहिले माग पुरा गर्न नसकेर हैरान छ ।’
उनको उद्योगलाई अहिले दैनिक पाँच हजार दुध आवश्यक छ । तर उनले एक हजार लिटर भन्दा बढी पाउन सकेका छैनन ।
उक्त दुध पनि धनकुटा,तेह्रथुम र संखुवासभाका बिभिन्न स्थानबाट प्रति लिटर रु ४५ रुपैयाँ सम्म लगाएर किन्नुपर्ने झन्जट र बाध्यता रहेको लिम्बुले गुनासो गरे ।
काठमाण्डौ र पूर्वको प्रमुख शहरहरुको बजारमा अहिले मासिक छुर्पी १५ हजार के.जी. र ५ हजार चिज माग रहेको छ । तर अहिले दुध अभावमा उद्योगले मासिक चिज १ हजार ५ सय केजी र छुर्पी सात सय ५० के.जी. मात्र उत्पादन गरी सबैलाई बाँडेर दिईरहेको लिम्बुले जानकारी दिए ।
‘कृषकहरुले गाई बेचेर गाडी किन्न थाले’, उनले भने,‘जति दुध उत्पादन हुन्छ त्यो पनि जनताले स्थानिय उद्योगलाई पत्याउँदैनन् ।’
घ्यूको बजार माग मात्र पुरा गर्दै आएको उद्योगले दुध अभावमा अहिले सात जना कामदार राखेर दैनिक ५० के.जी.,छुर्पी २५ के.जी. र घ्यू २५ के.जी मात्र उत्पादन गर्दै आएको छ ।
प्रति के.जी.चिज छ सय ५०,छुर्पी आठ सय र घ्यू पाँच सय ५० रुर्पैयामा बेचेर मासिक १३ लाख ५० हजार बरावरको कारोबार गरिरहेको उद्योगले जानकारी दिएको छ ।


