नेम्बाङको प्रश्न,- कतिले मलाई ‘संविधानका पिता’ मान्छन्, तर अब मेरो भूमिका के ?
राष्ट्रपतिका आकांक्षी खनाल र उनीप्रति सहानभूति राख्ने नेताहरूले पार्टीभित्र कसरी अराजकता मौलाइरहेको छ भन्ने दृष्टान्त प्रस्तुत गरेपछि अध्यक्ष ओलीले कमजोरी स्वीकार गरेका थिए। ‘म सबैलाई मिलाएरै पार्टी चलाउँछु, वरिष्ठ नेताहरूसँगको परामर्शमै अघि बढ्छु, अध्यक्ष भइसकेको छु, प्रधानमन्त्री पनि भइसकेको छु, अब मलाई अरू केही पनि पद आवश्यकता पनि छैन, कुनै लोभ पनि छैन’, ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने,‘तपाईं (खनाललाई लक्षित गर्दै)को योगदानको पनि उचित मूल्यांकन र कदर हुनैपर्छ।
सिंगै कम्युनिस्ट आन्दोलन एकढिक्का बनाउने अभियान पूरा भइरहेका वेला हामी सबै एकजुट हुनुपर्छ, त्यसैले सर्वसम्मत निर्णय गरौँ ।’ ओलीको यस्तो प्रस्तावपछि खनालले प्रक्रियाप्रति असहमति रहे पनि सर्वसम्मतिका लागि आफू उम्मेदवारको दौडबाट फिर्ता भएको जानकारी गराएका थिए । त्यसपछि भण्डारीको नाममा बैठकमा सर्वसम्मति जुटेको थियो।
नेम्बाङले यसरी खोजे भूमिका
स्थायी समिति बैठकमा दोहोरो कोणबाट तर्क आइरहेको वेला सुवास नेम्वाङले राष्ट्रपतिमा आफ्नो पनि दाबी प्रस्तुत गरेका थिए । उनको भनाइ थियो, ‘मैले संविधान बनाउन भूमिका खेलेँ। त्यसका लागि कैयनपटक जोखिम मोलेँ। बाहिरका कतिले ‘फादर अफ दी कन्सिच्युसन’ भन्दै जस पनि दिए तर अब मेरो भूमिका के हो ? के मेरो मृत्युपछि मात्र सुवास नेम्वाङले संविधान बनाउन भूमिका खेल्यो भन्दै सम्झिनुहुन्छ ? बैठकले निर्णय गरोस्। तपाईंहरूलाई छलफल गर्न अफठ्यारो हुन्छ भने म बरु बैठकबाहिर गइदिन्छु, निर्णयका लागि सजिलो होस्। तर, मैले जति योगदान गरेँ, त्यसलाई पार्टीले ‘प्रोपर्टी’ का रूपमा पुँजीकृत गर्ने कि नगर्ने ?’ तर, उनको विषयमा थप छलफल भएन। – नयाँ पत्रिका


