मुख्यमन्त्री राउतको अभिव्यक्तिलाई लिएर प्रदेशसभामा चर्काचर्की

महेन्द्रनगर, धनुषा, १ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाममा गरिएको नागरिक अभिनन्दनका क्रममा मुख्यमन्त्री लालबाबु राउतले दिनुभएको अभिव्यक्तिप्रति आज प्रदेश नं. २ का प्रदेशसभा बैठकमा चर्काचर्की भएको छ ।

मुख्यमन्त्रीको अभिव्यक्तिलाई लिएर बैठकमा नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्यले खुलेर विरोध जनाएका थिए भने मधेश केन्द्रित दल संघीय समाजवादी फोरम र राजपा नेपालले बचाउ गरेका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाममा गरिएको नागरिक अभिनन्दनका क्रममा मुख्यमन्त्री राउतले प्रदेश २ केन्द्र सरकारको विभेदका कारण पछि परेको र विभेदकारी संविधानका विरुद्ध आफूहरुको संघर्ष जारी रहेको अभिव्यक्ति दिनुभएको थियो ।

बैठकमा संघीय समाजवादी फोरमका रामआशिष यादवले मुख्यमन्त्रीले प्रदेशको गरिमा र जनताको भावनाअनुसार बोलेको भन्दै यसमा टीका टिप्पणी नगर्न आग्रह गर्नुभयो । उहाँले मुख्यमन्त्रीको भनाइप्रति भइरहेको टीका टिप्पणी तर्कसंगत नरहेको बताउनुभयो ।

राजपा नेपालकी डिम्पलकुमारी झाले मुख्यमन्त्रीको अभिव्यक्ति प्रदेश २ को जनताको पक्षमा रहेको बताउँदै यसप्रति टाउको नदुखाउन केन्द्र सरकारलाई आग्रह गर्नुभयो ।

काँग्रेसका शिवचन्द्र चौधरीले मुख्यमन्त्री राउतको अभिव्यक्ति राष्ट्र हीतमा नभएको बताउँदै “गाजल आँखामा लगाउँदा राम्रो देखिन्छ, त्यही गाजल अनुहारमा लगायो भने कालोमोसो हुन्छ,” भन्नुभयो ।

उहाँले प्रदेशको समस्या विदेशी पाहुनाको अगाडि राख्नु कतिको उचित हो भनेर प्रश्न गर्नुभयो ।

काँग्रेसकै शोभा लामाले सार्वजनिक पद धारण गरेका व्यक्तिले अभिव्यक्ति दिदाँ राष्ट्र हीतमा दिनुपर्ने बताउनुभयो ।

नेकपा एमालेकी मञ्जु यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन समारोहमा राष्ट्रिय गान किन नबजाएको भनेर प्रश्न गर्नुभयो ।

“ भारतीय प्रधानमन्त्री मोदीको यो औपचारिक कार्यक्रम थियो, त्यसमा राष्ट्रिय गान किन बजाइएन, यो कस्को गल्ती हो ?” भनी उहाँले प्रश्न गर्नुभयो ।

बैठकमा सदस्यहरुले भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणबारे प्रदेशसभामा जानकारी नगराएकोमा सरकारप्रति आक्रोश व्यक्त गरेका थिए ।

भारतीय प्रधानमन्त्री मोदीको भ्रमण तयारी, स्वागत र सत्कारमा लागेको खर्चको हिसाब बुझाउन माग गर्दै उनीहरुले भ्रमणका बेला भएका खर्चको यथार्थ विवरण बुझाउन सरकारसँग माग गर्नुभयो ।

यसैगरी नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका सदस्यहरुले भारतीय सांसद कीर्ति आजादले नेपालको सम्बन्धमा आफ्नो ट्वीटमार्फत गरेको आपत्तिजनक अभिव्यक्तिप्रति आपति जनाउनुभएको हो ।

दुई देशबीच सदियौँदेखि रहँदै आएको सुमधुर सम्बन्धमा खलल पु¥याउने अभिप्रायबाट आएको उक्त अभिव्यक्तिले नेपालको सार्वभौमसत्ता, स्वाधीनता, अखण्डता र नेपालीको स्वाभिमानमाथि ठाडो प्रहार गरेको उनीहरुले बताउनुभयो

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहनुभएका बेला भारतीय सांसद आजादले नेपालको अखण्डतामाथि प्रहार हुने अभिव्यक्ति ट्वीट गर्नुभएको थियो ।

उनीहरुले अभिनन्दन कार्यक्रममा मैथिली भाषा प्रयोग नगरिएको र उपमहानगरपालिकाले अभिनन्दन गर्दा प्रदेश सरकारका मन्त्रीले कार्यक्रम उद्घोषण गर्नु कतिको उचित हो भनी प्रश्न गर्नुभयो ।

जनकपुर उपमहानगरपालिकाले भारतीय प्रधानमन्त्री मोदीलाई गरेको नागरिक अभिनन्दन कार्यक्रममा प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले उद्घोषण गर्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖