जीवितदेवी एकान्तकुमारीको जात्रा सकियो : बर्षमा एकपटक खुल्ला हुने तलेजुमा दर्शनार्थीको घुइँचो

भक्तपुर । जीवितदेवीका रूपमा पुजिने भक्तपुरको एकान्तकुमारीसहित ११ कुमारीको पूजा गरी आज कुमारीजात्रा मनाइएको छ ।

तलेजुको प्रतिमूर्तिको रूपमा पुजिने एकान्तकुमारी जीविका बज्राचार्यलाई आज बिहानैदेखि तलेजुको आगमघरमा ल्याएर विधिवत रूपमा जात्रा मनाइएको हो । आजै टिबुक्छेँमा रहने ११ जनाको गणकुमारीको समेत तलेजुमा लगेर पूजा गर्ने कार्य पुरा भएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।

तलेजुमा ऋग्वेद, यर्जुवेद, अथर्ववेद र सामवेदलगायतको पाठ गरी कुमारीको राजोपाध्याय र कर्माचार्यको पूजा गरी कुमारीजात्रा मनाइएको होे । कुमारीको चतुर्ब्रह्म महाविहारमा लगि पूजा सकेर तलेजुमा विराजमान गराइएको थियो ।

त्यसैगरी भक्तपुरको ऐतिहासिक तलेजु भवानीको मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । महानवमीको दिन आज एकदिनका लागि सर्वसाधारणको दर्शनका लागि खुल्ला गरिने भएकाले तलेजु मन्दिर दर्शनार्थीहरुको भीड लागेको हो । महानवमीका दिन मन्दिरमा तलेजु भवानी प्रकट हुने जनविश्वासका कारण आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको हो ।

सत्रौं शताब्दीमा मल्ल राजा जयप्रकाश मल्लले तलेजु भवानीसँंग त्रिपाशा खेल्ने गरेको किंवदन्ती छ । किंवदन्तीअनुसार राजा जयप्रकाशले कुदृष्टिले हेरेपछि तलेजु भवानी त्यहाँबाट हराएकी थिइन् ।

राजाले क्षमा माग्दै धेरै रोइकराई गरेपछि तलेजुले वर्षको एक पटक मात्र आउँछु भन्ने वचन दिएकीले हरेकवर्ष महानवमीका दिन तलेजु भवानी आफ्नो मन्दिरमा प्रकट हुने विश्वासका साथ मानिसको घुइँचो लाग्ने गर्दछ ।

एकअर्को किंवदन्तीका अनुसार उनै त्रिपाशा खेल्ने तलेजु भवानी बालिकाको शरीरभित्र कुमारीको रुपमा प्रवेश गरेको जनविश्वास रहेको छ । त्यसैबेलादेखि भक्तपुरमा कुमारीलाई एकान्त कुमारीको रुपमा पुजिन थालिएको हो । कुमारी पुजिने चलन सबैभन्दा पहिले भक्तपुरबाट शुरु भएको थियो, त्यसपछि काठमाडौँ र ललितपुरमा विस्तार भएको भक्तपुर तलेजु मन्दिरका मूल नाइके नरेन्द्रप्रसाद जोशीले बताउनुभयो ।

तलेजुमा दशैंमा ५४ वटा बोका, ३२ वटा राँगा र २४ वटा हाँसको बली दिई जात्रा मनाइएको छ । तलेजुका मूल पुरोहितले मांसाहुती होम सम्पन्न गरेपछि तलेजुमा बली दिइने परम्परा रहेको छ । तलेजुलाई आज देवगृहबाट स्थानान्तरण गरी आगमघरमा विराजमान गराइसकेपछि जात्रा सम्पन्न हुनेछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।