नयाँ बर्षको आगमनसँगै धनकुटास्थित देउराली डाँडाको भ्यू-टावर सञ्चालनमा आउने
नारायण कुमार राई, धनकुटा खबर । आगामी नयाँ बर्षमा धनकुटाको देउराली डाँडामा निर्माण गरिएको भ्यू टावर सन्चालनमा आउने भएको छ ।
धनकुटा नगरपालिकाले पर्यटकहरु आकर्षण गर्न धनकुटा बजारको दक्षिणमा रहेको चुलिबन पार्कको देउराली डाँडामा भ्यु टाबर निर्माण गरेको छ । यो भ्यू टावरबाट ताप्लेजुङ्ग जिल्ला देखि चुरे क्षेत्र सम्म बगेको तमोर नदीको सुन्दर दृष्य र कुम्भकर्ण हिमालको दृष्यावलोकन गर्न सकिनेछ ।
पर्यटक पुर्बाधार बिकास कार्यक्रम अन्तरगत नगरपालिकाले ७३ लाख रुपैयाको लागतमा ५ तले भ्युटावर निर्माण गरेको हो । गत आर्थिक बर्षमा ४३ लाख रुपैया खर्च गरेर भ्यु टावर निर्माणको संरचना निर्माण गरेको नगरपालिकाले यो बर्ष बाँकी काम पुरा गरेको हो ।

प्रत्येक तलामा पर्यटकले दृष्याबलोकन गर्ने गरी निर्माण गर्न लागिएको नगरपालिकाका इन्जीनीयर मिङ्मा सेर्पाले जानकारी दिनुभयो । भुकम्प प्रतिरोधि यो टावरमा एक पटकमा ६० पर्यटकले दृष्यवलोकन गर्न सक्ने शेर्पाले जानकारी दिनुभयो ।
उक्त टावर आउने नयाँबर्ष बैसाख १ गतेबाट सन्चालनमा आउने नगरपालिकाका मेयर चिन्तन तामाङ्गले जानकारी दिनुभयो ।


