धनकुटाको भीरगाउँस्थित मधुगंगा धाममा विशेष मेला, हजारौँ भक्तजनको घुईचो
धनकुटा खबर । धनकुटा नगरपालिका वडा नं २ भीरगाउँको धार्मिक तथा पर्यटकीय स्थल मधुगंगा धाममा आज विशेष मेला लागेको छ ।
धान्य पुर्णिमा तथा उधौली पर्वको अवसरमा धनकुटाको धार्मिक तथा पर्यटकीय स्थल मधुगंगामा विशेष मेला लागेको हो । प्रत्येक वर्ष उक्त स्थानमा धान्य पुर्णिमादेखि पाँच दिन मेला लाग्ने गर्दछ । मेला भर्न धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, सुनसरी, मोरङ, झापा, सिराहा, सप्तरी लगायत पूर्वका अधिकांश जिल्लाबाट सहित धनुषा, महोत्तरी लगायत देशका अन्य जिल्लाबाट सर्वसाधारण आउने गरेकाछन् ।

मधुगंगा धामको झरनामा नुहाउने र गुफाभित्र रहेको महादेवथानमा पूजा गर्न हजारौँ भक्तजनको घुईचो लागेको हो । धनकुटा सदरमुकामबाट करिब ८ किलोमिटर पूर्वमा रहेको मधुगंगा महादेव स्थान धनकुटा जिल्लाको धनकुटा नगरपालिका वडा नं.२ भीरगाँउमा रहेको छ ।


