पहिलो र दोस्रो सन्तान छोरी जन्माउनेलाई प्रोत्साहन भत्ता !

विराटनगर । विराटनगर महानगरपालिकाले पहिलो र दोस्रो सन्तान छोरी जन्माउने परिवारलाई प्रोत्साहन स्वरुप आज रकम प्रदान गरेको छ ।

महानगरपालिकाले पहिलो सन्तान जन्माउने दम्पत्तिलाई नगद रु तीन हजार रकम हस्तान्तरण गरेको छ भने दोस्रो सन्तान छोरी जन्माउने परिवारलाई रु २५ हजार बैंकको अक्षय कोषमा जम्मा गरिदिएको छ ।

पहिलो र दोस्रो सन्तान छोरी जन्माउने चार दम्पत्तिका नाबालक छोरीका नाममा महानगरपालिकाले ग्लोबल आइएमी बैंकमा खाता खोलेर रु २५ हजार जम्मा गरिदिएको हो । यसरी भत्ता पाउनेमा विराटनगर—१ का नुमा तामाङ, विराटनगर—५ का रोहिणी कट्टेल र सुमित्रा राय अमात तथा विराटनगर–४ का तारादेवी पोखरेल छन् । महानगरपालिकाले उनीहरुको छोरीको नाममा आमा संरक्षक रहने गरी सो रकम जम्मा गरिदिएको हो ।

गर्भमा छोरी रहेको थाहा पाएपछि भु्रण हत्या हुने क्रममा वृद्धि भएपछि त्यसलाई रोक्नका लागि महानगरपालिकाले पहिलो पटक यो अभियान चलाएको हो । दुई छोरी जन्माउने महिलालाई वर्षेनी एक कार्यक्रमको आयोजना गरी प्रोत्साहन भत्ता वितरण गर्ने महानगरपालिका प्रमुख भीम पराजुलीले बताउनुभयो ।

महानगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक बजेट, नीति तथा कार्यक्रममा प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको थियो । उपप्रमुख इन्दिरा कार्कीले, “छोरी बचाउ अभियान” सँगै “छोरी पढाउ अभियान” पनि शुरू भैसकेको जानकारी दिनुभयो ।

चालू आवमा यो कार्यक्रमका लागि रु १० लाख बजेट विनियोजन गरिएको छ । “छोरीलाई दहेज होइन, उच्च शिक्षा देऊ” भन्ने उद्देश्य लिएर यो कार्यक्रम प्रारम्भ गरिएको उपप्रमुख कार्कीले जानकारी दिनुभयो ।

महानगरपालिकाले पहिलो सन्तान छोरी जन्माउने २३ दम्पत्तिलाई नगद रु तीन हजार प्रोत्साहन रकम प्रदान गरेको छ । दोस्रो छोरीको उमेर १८ वर्ष पुगेपछि अक्षय कोषमा जम्मा गरेको रकम झिक्न सक्ने गरी बच्चाका आमालाई संरक्षक बनाएर रकम जम्मा गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत कुमार दाहालले बताउनुभयो ।

महागरपालिकाले प्रदान गरेको प्रोत्साहन रकम भत्ता लिनका लागि आमाको उमेर २० वर्ष पूरा हुनुपर्ने, गर्भको बेला कम्तिमा तीन पटक स्वास्थ्य जाँच अनिवार्य गरेको हुनुपर्ने लगायतका मापदण्ड तोकिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।