शक्तिपिठ ताङ्जो ला म’हाकाल हरिसिद्धिको पूजा असोज १६ गते
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-१, ठुलो धादिङमा रहेका (ताङ्जो ला)महाँ’काल हरिसिद्धि मन्दिरको वार्षिक पूजा असोज १६ गते हुने पुजारी सन्तवीर तामाङले जानकारी दिए ।
बैशाखमा अर्धवार्षिक र दशै घटस्थापनापछि बिहीबार गरि वर्षमा दुईपटक ठुलो पूजापाठ हुने गरेको ताङ्जो ला मा औंसी पुर्णिामामा धूप गर्ने चलन रहेको छ पुजारी तामाङले भने ।
पूजाअर्चना दशैको घटस्थापनापछि बिहीबार गर्नुपर्ने धार्मिक मान्यता अनुसार यसपटक फुलपाती भन्दा २ दिन अघि परेको हो । उक्त दिन भक्तजनले सेतो वस्तु जस्तै सेतो कपडा, सेतोफुल, दूध, धूप, तामाको त्रिशूल र साहुमहाजनले सुनको धातुसमेत चढाउने गर्छन् ।
पूजा गर्न छिमेकी जिल्ला,दोलखा, काभ्रे, रामेछाप, सिन्धुली, लगायत बाहिरी जिल्ला सर्लाही, मकवानपुर, काठमाडौंबाट समेत श्रद्धालु आउने गरेको स्थानीयहरु बताउँछन् ।
ताङ्जो–ला वरिपरि ऐतिहासिक मठमन्दिर, पूरातात्विक सम्पदा छन् । ताङ्जो ला को तल्लो स्थानमा धुपछुवा गुफा र प्राचिन बौद्ध धर्मसम्बन्धी कलाकृति,धुपछुवा गुफा र बौद्धलिपीहरू अझै पाइने गरेको संरक्षण समितिका अध्यक्ष तीर्थलामाले बताए ।
अन्य दिनभन्दा वार्षिक पूजाको दिन भक्तजनको ठूलो घुइँचो लाग्ने गरेको छ । ताङ्जो लाको पूजा गरेर कतिपय भक्तजन तल्लो गाउँ जरदेऊ डाँडामा रहेको हरिसिद्धी मन्दिरमा गएर पूजा गर्ने चलन समेत रहेको छ ।
तामाङ समुदायको बाहुल्यता शक्तिपिठ वडाकै उच्च भेगमा रहेको हिन्दु र बौद्ध धर्मावलम्बी दुवैले मान्ने गर्छ । भक्तजनहरुले विभिन्न समस्याहरुलाई लिएर ताङ्जो ला सँग भाकल समेत गर्ने गरेका छन् ।
खाडिचौर जिरी सडक खण्ड अन्तर्गत २१ किलोबाट भित्री कच्ची सडक हुँदै मन्दिरसम्म पुग्न सकिन्छ ।काठमाडौको पुरानो बसपार्कबाट समेत अरनिको यातायातले ठुलो धादिङसम्म दैनिक एउटा बस जाने र काठमाडौ फर्किने व्यवस्था गरेपनि विभिन्न कारण देखाए वर्षमा ६ महिना मात्र बस चल्ने गरेको स्थानीयहरु बताउँछन् ।
शक्तिपिठ दर्शन गर्न आउने बाह्य तथा आन्तरिक पर्यटकलाई मध्यनजर गरेर धार्मिक स्थल वरिपरका स्थानीयहरुका आग्रहमा २०७४ सालमा स्थानीय तिर्थ लामाको अध्यक्षतामा ताङ्जो ला (महाकाल हरि सिद्दि) धार्मिक तीर्थस्थल संरक्षण समिति गठन गरेका थिए ।समितिले दर्शनार्थीहरुका लागि खानेपानी, विद्युतिकरण, गोरेटो बाटो निर्माण लगायत व्यवस्थापन गरिसकेको समितिका अध्यक्ष लामाले बताए ।
धादिङ जिल्लाबाट आएका ताङ्जो ला महा’काल हरिसिद्धि यस ठाउँमा थकान मार्न बस्दा सधैका लागि विराजमान भएका हुन् । कुखुरा भालेका डाँकभन्दा पहिला ठाउँ छोडी सक्नुपर्ने तर छोड्न नसकेपछि झन्डै ६ सय वर्षदेखि महाकाल यहि रहेको स्थानीयहरुको भनाइ छ ।


