यथार्थ बुझेर मात्रै समाचार लेखौं : मन्त्री बास्कोटा
काभ्रेपलाञ्चोक । पत्रकारले जुनसुकै विषयमा पनि यथार्थ बुझेर मात्रै समाचार लेख्नुपर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताउनु भएको छ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखाको बनेपामा नवनिर्मित भवन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उहाँले समाचार सन्सनी बनाउने नाममा मिथ्या समाचार सम्प्रेषण गरिएकामा रोष प्रकट गर्नुभयो । “समाचार सन्सनी बनाउने नाममा तथ्यहीन समाचार सम्प्रेषण गर्ने प्रवृत्ति हटेको छैन, यसमा विशेष ध्यान पुर्याउनुहोला ।” आफूले सत्यतथ्यमा आधारित सकारात्मक समाचारको अपेक्षा गरेको बताउनु भयो ।
सञ्चारकर्मीलाई गलत अर्थ दिने समाचार शीर्षक नबनाउन र जनताले विश्वास गर्नेगरी पत्रकारिता गर्न सुझाव दिनुभयो। नेपालपत्रकार महासङ्घको माग सञ्चार मन्त्रालयले पूरा गरिरहेको उल्लेख गर्दै ‘मिडिया हाउस’ले न्यूनतम पारिश्रमिक दिए नदिएकाबारे पत्रकार महासङ्घले अनुगमन थालेकामा खुशी व्यक्त गर्नुभयो ।
भन्नुभयो अब नजिकिएको चाडपर्व दशैँमा पनि श्रमजीवी पत्रकारलाई पारिश्रमिक नदिने मिडिया हाउसमा गएर धर्ना बस्नुस् अनि म महासङ्घलाई स्याबासी दिउँला ।”


