धनुषाको राजदेवी मन्दिरमा का*टिए १४ हजार ६ सय बोका
घनश्याम मिश्र, जनकपुरधाम, २० असाेज । यहाँको ऐतिहासिक तथा प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा बलि प्रदान कार्य सकिएकाे छ । यस वर्ष बलि संख्या विगतकाे भन्दा केही मात्र घटेको छ । गत वर्षको तुलनामा ३६४ ले कम बली चढेको हो ।
पूजा आयोजक महावीर युवा कमिटीका अध्यक्ष सन्तोष साहका अनुसार यसवर्ष १४ हजार ६ सय ३३ बोकाको मात्र बलि प्रदान गरिएको छ । गत वर्ष भने १४ हजार ९ सय ९७ बोकको बलि प्रदान गरिएको थियो ।
राजदेवी मन्दिरमा आइतबार राति ८:०४ बजेबाट सुरु भएको बलिप्रदान कार्य आज बिहान सकिएको छ। यसवर्ष बलि प्रदानका लागि ४ ठेहामा २० जना परिचालन गरिएको थियो । यहाँ बलि दिने कार्य सके पनि तराई मधेसका अन्य शक्तिपीठहरुमा भने बलि प्रदान जारी छ ।

जनकपुरको राममन्दिरमै रहेको राजदेवी मन्दिरलाई झकिझकाउ पारिएको छ। मन्दिरमा पूजापाठ गर्नेहरुको ठूलो भीड लागेको छ। महिला र पुरूषको अलग-अलग लाइन लगाइएको छ ।
बलि प्रदानपूर्व राजदेवी भगवानको विशेष पूजा गरिएको थियो । राम युवा कमिटी र महावीर युवा कमिटीले नेतृत्व गरेको बोका बलि कार्यक्रमलाई सफल बनाउन जनकपुरका दर्जनाैँ क्लबका ४ सय बढी स्वयं सेवक परिचालन गरियको थियाे । साथै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले शान्ति सुरक्षामा सघाउ पुर्याएका थिए ।
बलिपूर्व २ सशस्त्र प्रहरीले बन्दूक पडकाएर सलामी समेत दिएपछि गएको राति ८ बजे देखि विहान ३ बजेसम्म बोका बलि कार्यक्रम संचालन भएको थियो ।


