नेपाल टेलिकमको फोर जी विस्तार तीव्र, माघसम्म देशैभरि पुग्ने

काठमाण्डौ – नेपाल टेलिकमले चौथो पुस्ताको इन्टरनेट सेवा ‘फोर जी’ विस्तारको कामलाई तीव्रता दिएको छ ।

गएको असोज १५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडिओ कल गरेर विस्तारित फोर जी/एलटिई सेवाको उद्घाटन गर्नुभएको थियो । प्रधानमन्त्रीले सुरु गर्दाको दिन फोर जी सेवा ५० शहरमा सुरु भएको थियो । कात्तिक ३ गते आइतबारसम्म यो सेवा झण्डै ८० ठाउँमा सुरु भैसकेको नेपाल टेलिकमले जनाएको छ ।

‘औपचारिक रुपमा ३९ जिल्लाका ७० ओटा नगरपालिका र चार ओटा गाउँपालिकामा यो सेवा सुरु भएको छ, केही ठाउँमा अनौपचारिक रुपमा परीक्षणको काम भैरहेको छ’, टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले उज्यालो अनलाइनसँग भन्नुभयो ।

उहाँले चिनियाँ कम्पनीसँगको सम्झौता अनुसार नै आउँदो माघसम्म देशैभरि फोर जी सेवा पुगिसक्ने पनि दाबी गर्नुभयो । ‘हामीले माघसम्मको सम्झौता गरेका हौँ, अहिलेको कामको गति हेर्दा माघसम्म काम सकिने देखिन्छ’, वैद्यले भन्नुभयो ।

टेलिकमले यसअघि २०७३ साल पुस १७ गतेदेखि काठमाण्डौ र पोखरामा फोर जी सेवा सुरु गरेको थियो । त्यसपछि निजी क्षेत्रका अरु दूरसञ्चार प्रदायकले फोर जी सेवा सुरु गरे पनि टेलिकम भने पछि परेको थियो । गएको माघमा सम्झौता भएबमोजिम एक वर्षभित्र देशैभरि फोर जी सेवा पुर्‍याउने लक्ष्यका साथ तीव्र गतिमा काम भैरहेको छ । यो सेवा विस्तारका लागि टेलिकमले १८ अर्ब रुपैयाँ खर्च गरेको छ ।

सूचना तथा प्रविधिको क्षेत्रमा प्रभावकारी काम गर्ने लक्ष्यका साथ गएको माघमा फोर जी सेवाका लागि आवश्यक पर्ने ‘कोर नेटवर्क’ र ‘रेडियो एक्सेस नेटवर्क’ जडानका लागि चिनियाँ कम्पनी जेडटीई कर्पोरेशन र हङकङको सीसीएसआई कम्पनीसँग सम्झौता भएको थियो ।

टेलिकमले अहिले भैरहेका टु जी र थ्री जी प्रविधिका टावरसँगै फोर जीकै लागि भनेर थप साढे ६ सय नयाँ टावर थप्दैछ । त्यसपछि टेलिकमसँग चार हजार दुई सय ओटा ग्राउण्ड बेस भएका टावर हुनेछन् । सबै गरेर ६ हजार सात सय ओटा टावरमार्फत फोर जी सेवा दिने टेलिकमले जनाएको छ ।

देशभर सेवा विस्तार गरेर थप ६५ लाख ग्राहक थप्ने योजनाका साथ काम भैरहेको टेलिकमको दाबी छ ।

के हो फोर जी सेवा ?

कुराकानी गर्न तथा भिडियो, अडियो र सामान्य इन्टरनेट प्रयोगसहितका बहुआयामिक उपयोगिता हासिल गर्न फोर जी सेवाको प्रयोग हुन्छ ।

सन् १९८० को दशकमा व्यावसायिक रुपमा सुरु भएको ताररहित वा बिना तारको मोबाइल फोन सेवाले आजको दिनमा आइपुग्दा प्रविधिगत र व्यवसायिक रुपमा ठूलो फड्को मारेको छ । यो उच्च गुणस्तरको भ्वाइस कल सेवा दिने प्रविधि हो ।

फोर जी सेवाबाट ताररहित उच्च गतिको इन्टरनेट प्रयोग गर्न सकिन्छ । यसले द्रूत गतिमा डाटा ‘अपलोड’ र ‘डाउनलोड’ गर्ने क्षमता राख्छ । फोर जीबाट थ्री जीभन्दा पाँच गुणा बढी गतिको इन्टरनेट चल्दछ । अन्तर्राष्ट्रिय दूरसञ्चार संस्थाले बनाएको मापदण्डले एक सय एमबीपीएस गतिको इन्टरनेट सेवालाई फोर जी सेवा मानिएको छ ।

टेलिकमले अहिले सुरु गरेको फोर जीमा दुई सय ५० एमबीपीएससम्मको गतिमा इन्टरनेट चल्ने जनाएको छ । प्रविधिको रुपमा यो फोर जी मात्रै नभइ फोर र फाइभको बीचको प्रविधि भएको टेलिकमको दाबी छ ।

कसरी गर्ने ‘एक्टिभेट’

टु जी र थ्री जी सिमलाई फोरजीमा रुपान्तरण गर्दा कुनै शुल्क नलाग्ने टेलिकमले जनाएको छ । अन्य सिम–कार्डको प्रयोग गरेका ग्राहकले मोबाइलमा स्टार ४४४ ह्यास (*400#) डायल गरी फोर जी सेवा निःशुल्क ‘एक्टिभेट’ गर्न सक्नेछन् । पुरानो सिमले फोर जी सेवा सपोर्ट नगरेमा टेलिकमको जुनसुकै ग्राहक सेवा केन्द्रमार्फत सिम परिवर्तन गर्न सकिनेछ ।

थ्री जी तथा टु जीको दरमा नै फोर जी सेवा लिन सकिने र थप शुल्क नलाग्ने टेलिकमले जनाएको छ । टेलिकमले दशैँका अवसरमा आइतबारदेखि नै फोर जी र अन्य सेवामा विशेष छुट दिएको छ । कम्पनीकाअनुसार पहिलो पटक फोर जी ‘एक्टिभ’ गर्ने ग्राहकले दुई दिनको समयसहितको दुई सय एमबी डाटा बोनस पाउनेछन् ।-उज्यालो

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।