आज किराँत समुदायले उधौली चाड र नेवार समुदायले योमरी पुन्ही,ज्यापू दिवस पनि धुमधामले मनाउँदै
धनकुटा,मंसिर २६। हरेक बर्ष मंसिर शुक्ल पूर्णिमाको दिन उधौली चाड मनाइने गरिन्छ । आजकै दिनलाई धान्य पूर्णिमा पनि भनिन्छ । आजका दिन किराँत समुदायले उधौली चाड र काठमाडौं उपत्यका सहित नेवार समुदायको बाहुल्यता रहेको क्षेत्रमा योमरी पुन्ही र ज्यापू दिवस पनि धुमधामले मनाउँदैछ न्।
उधौली चाड मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसींतिर बसाई सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याएको खुशीयालीमा मनाइने चलन रहेको छ ।खाद्यान्नको अभाव नहोस् भन्दै भूमेस्थान र साकेलास्थानमा पूजा गरी उधौली चाड मान्ने परम्परा रहेको छ ।
किराँत समुदायका राई, लिम्बू, सुनुवार र याक्खाले यो चाड मनाउने गर्दछन् । वैशाख शुक्ल पूर्णिमाका दिन गर्मी छल्न उँभो गई उभौली चाड मनाएका किराँत समुदायले आजैदेखि जाडो छल्न उँधो झर्ने भएकाले यो पर्वलाई उधौली भन्ने गरिएको छ ।
यस्तै नेवार समुदायले यस दिनलाई योमरी पुन्हीका रुपमा मनाउँछन् । नेवारी समुदायमा योमरी पुन्हीको विशेष महत्व रहेको छ । नयाँवालीका रुपमा भित्र्याइएको नयाँ धानको चामल पिसेर त्यसबाट बनाइएको रोटी बाँडीचुँडी खाने गरिन्छ । यस्तै आजैको दिन बाहुन क्षेत्री समुदायले कुल पूजा गर्दैछन् । आजको बिषेश दिन पारेर वाहुन क्षेत्री समुदायमा देवाली अर्थात कुल पूजा गर्ने चलन छ ।
जाडोको समयमा चामलको पिठोबाट बनेको विशेष परिकारलाई चाकुसँगै खाने पर्वका रुपमा यो पूर्णिमा मनाउने गरिएको हो ।
आजको दिनलाई ज्यापु दिवसका रुपमा समेत मनाउने गरिन्छ । यस्तै पहाडी समुदायले कुल पूजा र गोठ पूजा गर्ने प्रचलन छ ।


