६ लाखमा ६६ काउली, १३ लाखमा ५० बोट कागती! हाम्राे नेपालमा
काठमाडौं, मंसिर २९ । कृषि उत्पादन बढाउन राज्यले दिएको अनुदानमा उदेकलाग्दो बेथिति मौलाएको छ। पौरखी किसानले अनुदानको भेउसमेत पाउँदैनन् भने छद्म किसानले सरकारी कार्यालय धाउँदै बजेट हात पारेका छन्।
प्रदेश ५ को सरकारले विभिन्न शीर्षकमा दिएका अनुदान दुरुपयोग भएको गुनासो आएपछि प्रदेश सभाको कृषि, वन तथा वातावरण समितिले चार टोली बनाएर स्थलगत अध्ययन गर्दा अनियमितता उदांगो भएको हो।
प्रदेश ५ को संसदीय समितिको अध्ययनलगत्तै नयाँ पत्रिकाका संवाददाताहरूले पनि स्थलगत अध्ययन गरेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ।
अध्ययनमा अनुदान दुरुपयोगका अनौठा–अनौठा नमुना भेटिएका छन्। कपिलवस्तु नगरपालिका २ मा सञ्चालित हृदय कृषक समूहका सदस्य मनबहाल बरैले ६ लाख अनुदान लिएका थिए। यो अनुदानबाट उनले करेसाबारीमा ६६ वटा काउलीका बेर्ना रोपेका छन्। रोपेका काउली पनि स्याहार नपाएर माटोमै हराएका छन्। यसरी सरकारले दिएको अनुदानबाट एउटा काउलीको बिरुवाको ९ हजार ९० परेको छ। त्यसो त उनले काउलीसँग एक किलो आलु पनि रोपेका छन्।
कपिलवस्तुकै शिवराज नगरपालिका ११ स्थित नव प्रगतिशील कृषक समूहले बाख्रापालनका लागि ६ लाख रुपैयाँ अनुदान पाएको थियो। अनुदानबराबर आफैं लगानी गर्नुपर्ने नियम भएकाले समूहले १२ लाख लगानी गरेको दाबी गरेको छ। यो पनि समूहको स्वामित्वमा गर्नुपर्नेमा समूहका अध्यक्ष दुर्गा खनाल एक्लैले अनुदान हत्याएको सदस्यहरूको गुनासो छ। उनले २० वटा बाख्रा पालेका छन्। यसरी एउटा बाख्राको ६० हजार परेको छ।
गुल्मीको छत्रकोट ५ खज्र्याङ ढुंगे देउरालीमा अनुदान दुरुपयोगको अर्काे भद्दा नमुना छ। नामै ढुंगे–देउराली, न मल न जल। तर यही ठाउँलाई वागबानी बनाउने भन्ने प्रस्ताव पत्याएर प्रदेश सरकार र स्थानीय सरकारले पैसा खन्याए। ढुंगेदेउरालीमा कागती खेतीका लागि गत वर्ष प्रदेश कृषि मन्त्रालयबाट १३ लाख निकास भएको छ। २ सय ५० कागतीका बिरुवा रोपेका थिए। तर तीन स्याहार नपाएर ठिँगुरिएका छन्।


