निगमको अन्तर्राष्ट्रिय ग न्तव्य विस्तार : मार्च पहिलो सातादेखि नारिता, दोस्रो सातादेखि क्वाङचाउ उडान
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को प्रारम्भसँगै नेपाल वायुसेवा निगमले थप दुई अन्तरराष्ट्रिय गन्तव्यमा आफ्नो सेवा विस्तार गर्दै छ । निगमको मंसिर २६ गते बसेको कार्यकारी समितिको बैठकले जापानको नारिता तथा चीनको क्वाङचाउमा निगमको उडान शुरू गर्ने निर्णय गरेको छ । निगमको काठमाडौं –नारिता उडान मार्चको पहिलो सातादेखि तथा क्वाङचाउ उडान मार्चको दोस्रो सातादेखि हुनेछ ।
निगमले मंसिरको तेस्रो साता चीनमा उडान गर्न सिभिल एभिएशन एडमिनिस्ट्रेशन अफ चाइना (सीएएसी) बाट विमान उडान अनुमति (एओसी) प्राप्त गरेको थियो । निगमले चीनमा सेवा विस्तार गर्न सीएएसीसँग गत असारमै उडान अनुमति मागेको थियो । निगमले अनुमति मागेपछि निगमका कागजात अध्ययन गरिरहेको सीएएसीले अपरेशनसँग सम्बद्ध थप कागजात माग गरेको थियो ।
अनुमति दिनुअगाडि निगमको सेफ्टी अडिट गर्ने बताएको सीएएसीले निगमले पेश गरेका थप कागजातको अध्ययनपछि उडान अनुमति दिएको थियो । निगमले पहिलो चरणमा क्वाङचाउ र त्यसपछि चीनको राजधानी पेचिङ तथा आर्थिक केन्द्र साङहाईमा उडान गर्ने योजना बनाएको छ ।
नेपाल–चीनबीच ५ वर्षपछि गत साउन महीनामा भएको हवाई सेवा सम्झौताको पुनरवलोकनपछि नेपाली विमान कम्पनीहरूले चीनमा उडान शुरू गर्न थालेका हुन् । हवाई सम्झौता पुनरवलोकन पछि नेपालको निजीक्षेत्रको हिमालय एयरलाइन्सले गत कात्तिक महीनादेखि चीनको पेचिङमा सातामा तीनओटा, गुयान र चाङसामा एक/एक गरी पाँचओटा उडान शुरू गरिसकेको छ । यो खबर आजको आर्थिक अभियान दैनिकमा छ ।


