३० वर्षपछि ५२५ घरधुरीले पाऊने भए धनीपुर्जा

मङ्गलसेन, पुस २ गते। विवादका कारण जग्गाधनी प्रमाणपुर्जा रोकिएको अछामको मेल्लेख–३ ठाँटीवासीले झन्डै ३० वर्षपछि जग्गाधनी प्रमाणपुर्जा पाउने भएका छन्।

मन्त्रिपरिषद्बाट जग्गा दर्ता गठन समितिको गठन आदेश कार्यान्वयन गरेसँगै साविकको ठाँटी गाविसमा रहेका ५२५ घरधुरीले तीन दशकपछि आफ्नो जमि(नको जग्गाधनी प्रमाणपुर्जा पाउने भएका हुन्।

अछाम जिल्लाका लागि मात्र जग्गा नापजाँच भई दर्ता हुन नसकेका जग्गा दर्तासम्बन्धी समिति गठन आदेश–२०७६ मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ। आफैँले कमाएर खाइरहेको जग्गा हालसम्म आफ्नो नाममा नरहेपछि ठाँटीवासी केन्द्रदेखि जिल्लाका सरकारी र राजनीतिक शक्तिकेन्द्रमा लामो समयसम्म धाइरहेका थिए।

मेल्लेख गाउँपालिकाका अध्यक्ष तथा समिति सदस्य लोकबहादुर बोहराले निवेदन सङ्कलनपछि वन, सरकारी, गुठी र निजी जग्गा छुट्याएर सम्बन्धित पक्षलाई प्रमाणपुर्जा दिने तयारी भइरहेको बताउनुभयो। ३५ दिने सार्वजनिक सूचनापछि समिति गठन आदेशअनुसार निर्देशित काम अघि बढ्ने समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठको भनाइ छ।

३५ दिने सूचना प्रकाशित गरेर जग्गावालाको निवेदन र नेपाली नागरिकताको प्रमाणपत्र लगायतका कागजात सङ्कलन गरेर जग्गा उनीहरूका नाममा गर्ने प्रक्रिया अघि बढेको जिल्ला मालपोत कार्यालय अछामका निमित्त प्रमुख शिवराज ढुङ्गानाले जानकारी दिनुभयो। विशेष नापीका क्रममा छुट भएका जग्गाको नापजाँच र आवश्यक प्रमाणका आधारमा समेत अन्य स्थानीय तहमा समितिले काम गर्नेछ।

जग्गा उपभोग गरिरहे पनि जग्गाधनी प्रमाणपुर्जा नपाएका ठाँटीवासीलाई पहिलो प्राथमिकता दिइएको प्रमुख ढुङ्गानाको भनाइ छ। कर्मचारी नै सम्बन्धित स्थानमा खटाएर जग्गाको स्रेस्ता तयार गरिने बताइएको छ । प्रहरी, स्वास्थ्य, विद्यालय, कृषि लगायतका सरकारी कार्यालयका समेत जग्गाधनी प्रमाण नभएको बताइएको छ।

२८ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा पाउने भएपछि साविकको ठाँटी गाविस हाल मेल्लेख गाउँपालिका–३ का बासिन्दा निकै उत्साहित बनेका छन्। “लालपुर्जा पाउने भएपछि सरकारी कामसमेत हुने भयो, कम्तीमा यहाँका बासिन्दा रहेछौँ भन्ने प्रमाणित हुने भयो,” मेल्लेख गाउँपालिका–३ ठाँटीका लालबहादुर चँदाराले भन्नुभयो।

२०४५ को नापीका क्रममा तत्कालीन छिमेकी गाविस कुस्कोटसँग चन्मन्ना भन्ने खेतीयोग्य जमिनका कारण विवाद हुँदा प्रमाणपुर्जा बुझ्न पाएका थिएनन्। जग्गा विवादमा मिलापत्र भएपछि २०५४ तत्कालीन जिल्ला विकास समितिको सहजीकरणमा पुर्जा दिने प्रक्रिया थालिए पनि मालपोत कार्यालय प्रमुखको अभावमा काम ढिलो भइरहेको छ। २०५८ सालमा सदरमुकाम ध्वस्त भएसँगै सबै कागजात नष्ट भएको पूर्व जिल्ला विकास समिति सदस्य हेमराज शाहको भनाइ छ।

जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मालपोत कार्यालय सदस्य सचिव रहने गरेर नापी, वन कार्यालय र सम्बन्धित स्थानीय तह सदस्य रहने गरी एक समिति गठन गरिएको छ। जिल्लाको ठाँटीलगायत जग्गाधनी प्रमाणपुर्जा नपाएका व्यक्तिलाई लालपुर्जाको व्यवस्था गर्न प्रतिनिधि सभा सदस्य तथा नेकपा स्थायी समिति सदस्य भीम रावल, प्रतिनिधि सभा सदस्य यज्ञबहादुर बोगटी र राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवर लगायतले पटकपटक संसद्मा समेत माग गर्दै आउनुभएको थियो। यो खबर शिवराज ढुङ्गानाले आजको गोरखापत्र अनलाईनमा लेखेका छन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।