सुन्तलाको कमाईबाटै एक छोरा डाक्टर, दुई छोरीको बिहे र पोखरामा घरघडेरी

काठमाडौँ, ६ पुस । कृषि विकास बैंकबाट ०३३ सालमा ७ हजार रुपैयाँ ऋण लिएर सुन्तला खेती सुरु गरेकी कास्की निर्मलपोखरीकी टेकमाया पौडेल अहिले वार्षिक ५ र ६ लाख रुपैयाँ कमाउँछिन्। सुन्तला बेचेरै उनले एक छोरालाई डाक्टर पढाइन्। दुई छोरीको बिहे गराइन्। पोखरामा घरघडेरी जोडिन्।

स्याङ्जा फेदीखोलाबाट निर्मलपोखरी फेदीपाटनका टीकाराम पौडेलसँग ४ दशकअघि बिहे गरी आउँदा उनी मात्रै आइनन्, सुन्तला खेतीको उपाय पनि ल्याइन्। टीकारामले टेकमायाको माइतीमा सुन्तला खेती गरेको देखेपछि निर्मलपोखरीमा सिको गरे। तत्कालीन सरकारले सहुलियतमा कृषि ऋण दिएको फाइदा उनको परिवारले लियो । टेकमाया र उनका छिमेकी तीर्थराज पौडेलले ७र७ हजार रुपैयाँ ऋण लिएर सुन्तलाका तीन सय बेर्ना किने । पाखो बारी बिराए । बगैंचा बनाए । बान्नो ९पर्खाल० लगाए । घर बनाए ।

रोपेको ३ वर्षमा तीन दाना सुन्तला फले । टेकमायाले पशुपति लगेर चढाइन् । ‘पशुपतिमा शतबीज छर्ने मेसोमा पहिलोपल्ट फलेका सुन्तला पनि लगेर चढाए,’ पहिलो दाना दिने बोट देखाउँदै उनले भनिन्, ‘त्यति बेला पोखराबाट काठमाडौं पुगेको १७ रुपैयाँ भाडा थियो ।’ अर्को वर्ष फलेका सुन्तला बेचेर उनले ७ सय रुपैयाँ कमाइन् । त्यसको अर्को वर्ष १८ सय रुपैयाँ । सुन्तला फल्न थालेको ३ वर्षमा बैंकको ऋण निखनिन् । पोहोर मात्रै उनले ५ लाखका सुन्तला बेचिन् ।

‘त्यति बेला सुन्तला बेच्न धेरै दुस्ख थियो,’ उनले सम्झिन्, ‘एकाबिहानै राँको बालेर डोकोमा बोकी रुपैयाँका ५ गोडा मुस्ताङचोकमा लगेर खनाम्थेम् । अहिले किन्ने मान्छे घरमै आउँछन्, स्वर्ग छ ।’

सुन्तला खेतीपछि टीकारामले शिक्षण पनि गरे । १४ वर्षअघि पेन्सन पाक्यो । सुन्तला बेचेको पैसामा थपथाप गरेर पोखराको बिरौटामा घडेरी जोडे । छोरा सुरज पौडेलले एमबीबीएस पढ्ने इच्छा देखाए । टेकमायाले त्यही घडेरी बेचेर पोखराकै गण्डकी मेडिकल कलेजमा एमबीबीएस पढाइन् ।

अहिले सुरज इन्टर्नसिप गर्दै छन् । ०५४ सालमा वडा सदस्य भएकी टेकमायाले सुन्तला खेती विस्तार गरेर चार सय बोट पुर्‍याइन् । सुन्तला बेचेकै पैसाले बिरौटामा अर्को घरघडेरी जोडिन् । ‘सुन्तलाले सबै कुरा दियो, एकदम सन्तुष्ट छु,’ फेदीपाटन सुन्तला उत्पादक कृषि समूहकी अध्यक्षसमेत रहेकी ६४ वर्षीया टेकमायाले भनिन्, ‘सुन्तलाको अनुभव भयो । अब ज्ञान चाहियो ।’ कास्कीमा सुन्तला मासिँदै जाँदा फेदीपाटनमा भने फैलँदै गएको छ । दुई घरमा तीन सय बोटबाट सुरु भएको सुन्तला ११ घरमा दुई हजार बोट पुगेको छ । फेदीपाटनबाट मात्रै वार्षिक ३० लाख रुपैयाँको सुन्तला बाहिरिन्छ ।

सुन्तलाको मुख्य बजार पोखरा हो । पोखराबाट एक घण्टाको दूरीमा रहेको फेदीपाटनसम्म मोटर पुगेको छ । काठमाडौंबाट समेत ग्राहक पुग्ने गर्छन् । प्रभा पौडेलले ७० रोपनीमा १ हजार सुन्तलाका बोट लगाएकी छन् । तीमध्ये ६ सय बोटबाट उत्पादन भइरहेको छ । यस वर्ष उनले १० लाख रुपैयाँ बराबरका सुन्तला बेचिन् । सुन्तलाकै आम्दानीले घरको सबै खर्च चलेको उनी बताउँछिन् । कान्तिपुर दैनिकबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।