बहराइनमा ‘ल्हो छार सां स्कृतिक साँझ-२०२०’ को तयारी अन्तिम चरणमा
बहराइन । नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति बहराइनको ‘ल्होछार सांस्कृतिक साँझ-२०२०’ को तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।
बहराइन घेदुङले जनवरी २४ शुक्रबार मानमास्थित डेल्मोन इण्टरनेशन होटलमा नेपालबाट आमन्त्रित कलाकारहरुको साथमा ल्होछार मनाउन लागिएको कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको हो ।
बिगतका वर्षहरुमा झै यसवर्ष ( जीवा अर्थात मुसा वर्ग) सोनाम ल्होछारको अवसर पारेर भिजिट नेपाल २०२० को प्रचारप्रसार समेत गर्ने घेदुङ संयोजक प्रेम स्याङ्तानले जानकारी दिए ।
साँझ ६ बजेबाट सुरु हुने ल्होछार ‘सांस्कृतिक साँझ-२०२० का लागि नेपालबाट सेलो गायिका जितु लोप्चन, सेलो गायक प्रयास दोङ र म्हेदोमाया गायिका टीका माया चोथेन, म्हेन्दोमाया गायक रोम लामा र आरबि लामालाई आमन्त्रित गरेको संयोजक स्याङ्तानले बताए ।
त्यसैगरी कार्यक्रममा लामागुरुबाट धार्मिक बिधिगत पूजापाठ समेत हुने ल्होछार मुल संमारोह संयोजक एक बहादुर तामाङ ( बल)ले बताए । संयोजक तामाङका अनुसार स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहनेछन् ।
कार्यक्रम हुने स्थानसम्म आउन बहराइनको विभिन्न क्षेत्रबाट नि:शुल्क यातायातको व्यवस्था गरेको घेदुङका उपसंयोजक प्रेम तितुङले बताए । उनका अनुसार कार्यक्रम स्थलमा विभिन्न स्टलहरू रहनेछन् । स्टल राख्न इच्छुक रहेका सङ्घसंस्था वा व्यक्तिले आयोजकसँग सम्पर्क राख्न उपसंयोजक तितुङले आग्रह गरे ।
ल्होछारलाई बिगतका वर्षहरुमा झै सभ्य तथा भव्य रुपमा सफल पार्न बहराइनमा स्थापित सङ्घसंस्था, सङ्गठन, व्यवसायी, बुद्धिजीवी, कलाकार, पत्रकार र तामाङ तथा गैर तामाङ लगायतलाई उपस्थितिका लागि घेदुङका उपसंयोजक मान वाईबाले आग्रह गरे ।


