भोटेकोशी बाढीपीडितका लागि भुजेल समाज युएईद्वारा सहयोग
युएई । नेपालको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित तथा पीडित परिवारहरूको राहत, उद्धार र पुनर्स्थापनाका लागि नेपाल आदिवासी जनजाति महासंघ युएईले गरेको सहयोग आह्वानमा प्रवासी भुजेल समाज सेवा समिति युएईले ऐक्यबद्धता जनाउँदै ८ सय ८ युएई दिराम आर्थिक सहयोग गरेको छ।
समितिले उक्त सहयोग रकम नेपाल आदिवासी जनजाति महासंघ युएईलाई हस्तान्तरण गरेको हो। विपद्को यस कठिन घडीमा बाढीपीडित परिवारलाई राहत उपलब्ध गराउने तथा पुनर्स्थापनाका लागि सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोग गरिएको समितिका अध्यक्ष हरि कुमार खवासले जानकारी दिएका छन्।
महासंघमा आबद्ध विभिन्न मातृसंस्थाहरूबाट संकलित सहयोग रकमलाई एकीकृत गरी नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा महासंघ मार्फत एकमुष्ट रूपमा जम्मा गरिने बताइएको छ।
परदेशमा रहेर पनि मातृभूमिमा आइपरेको विपद्प्रति संवेदनशील हुँदै सहयोगको हात बढाउँदै आएको प्रवासी भुजेल समाज सेवा समिति युएईको यस पहलले सामाजिक उत्तरदायित्व, मानवीय संवेदना र आपसी एकताको सकारात्मक सन्देश दिएको छ।
विपद्को समयमा गरिने सहयोग रकम सानो वा ठूलोभन्दा पनि त्यसले पीडितको जीवनमा पुर्याउने आशा र भरोसा महत्वपूर्ण हुन्छ। संकटको घडीमा प्राप्त हुने यस्ता सहयोगले पीडित परिवारलाई तत्काल राहत मात्र होइन, कठिन परिस्थितिबाट पुनः उभिन मानसिक हौसला र आत्मविश्वाससमेत प्रदान गर्ने विश्वास गरिएको छ।
मातृभूमि दुःखमा हुँदा प्रवासबाट बढाइएको सहयोगको हात केवल आर्थिक योगदान होइन, आफ्नो माटो, समाज र समुदायप्रतिको जिम्मेवारी तथा आत्मीयताको प्रतीक पनि हो। प्रवासी भुजेल समाज सेवा समिति युएईको यो मानवीय पहलले विपद्मा सबै एकजुट भएर पीडितको साथमा उभिनुपर्ने सन्देश दिएको छ।

