यस्तो छ महराले स फाइ पाउनुको भित्री का रण

काठमाडौं, फागुन ६ । जिल्ला अदालत काठमाडौंले ब लात्कार प्रयास गरेको आरोपबाट पूर्वसभामुख कृष्णबहादुर महरालाई सफाइ दिएको छ।

किटानी जाहेरी नै खण्डन हुने गरी पीडितले अदालतमा गरेको बकपत्र महराले सफाइ पाउने प्रमुख आधार बनेको हो।

न्यायाधीश अम्बरराज पौडेलको इजलासले घटनास्थलमा बरामद भएका सामानको औंठाछाप पनि प्रतिवादीसँग मेल नखाएको भन्ने अर्को तथ्यलाई सफाइको आधार बनाएको छ।

‘फैसलाको पूर्णपाठ तयार भइसकेको छैन, त्यो आएपछि विस्तृत रूपमा स्पष्ट हुनेछ,’ जिल्ला अदालतका स्रेस्तेदार आनन्दकुमार श्रेष्ठले भने, ‘अदालतमा प्रतिवादीको इन्कारी बयान थियो, जाहेरीकर्ताले पनि प्रतिवादीको भनाइसँग मेल हुने गरी कुटपिट र अरू घटना नभएको बयान दिएकाले आरोपबाट सफाइ ठहर्ने भनी रायकिताबमा राय व्यक्त भएको छ।’

रायकिताबको रायअनुसार घटनास्थलमा बरामद भएका गिलासलगायत सामानमा भेटिएको हस्तरेखा र आरोपितहरूको हस्तरेखाको तुलनात्मक अध्ययनबाट पनि प्रतिवादी घटनामा संलग्न भएको पुष्टि हुन नसकेको उल्लेख छ।

हस्तरेखाको अध्ययन गरेका विशेषज्ञले औंठाको छापमा तुलनात्मक अध्ययन गर्न र विश्लेषण गर्न नसकिएको राय दिएका थिए । बयानमुखी अनुसन्धान पद्धतिमा मुद्दाका सरोकारवालाले अदालतमा गर्ने बयानलाई महत्त्वपूर्ण प्रमाण मानिन्छ । जिल्ला अदालत काठमाडौंले त्यही बयानलाई प्राथमिकता दिएर न्यायनिरूपण गरेको देखिन्छ ।

संसद् सचिवालयमा कार्यरत कर्मचारी ‘नयाँ बानेश्वर २६ (परिवर्तित नाम) माथि ब लात्कारको प्रयास गरेको आरोपमा पूर्वसभामुख महराविरुद्ध गत कात्तिक १४ मा जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले साढे ७ वर्ष कैदको मागदाबी गरेको थियो।

जिल्ला अदालतको फैसला चित्त नबुझेमा जिल्ला सरकारी वकिलको कार्यालयले उच्च सरकारी वकिलको कार्यालयमार्फत उच्च अदालतमा पुनरावेदन गर्न पाउँछ । फैसला चित्त बुझाएमा पुनरावेदन नगर्ने निर्णय पनि हुन सक्छ तर त्यसका लागि फाइल तहगत निर्णय गर्दै महान्यायाधिवक्तामार्फत सदर गर्नुपर्छ।

जिल्ला अदालतको फैसलासँगै महरा कानुनी रूपमा ‘निर्दोष’ ठहर भएकाले अब नेकपा सांसदका रूपमा क्रियाशिल हुनेछन् । नैतिकताको सवाल उठेपछि सभामुख पदबाट उनले राजीनामा दिएका थिए । सभामुख हुँदा नै पार्टी सदस्यता त्यागेकाले अब पार्टीमा उनको के भूमिका हुने भन्नेबारे टुंगो लागेको छैन।

मुद्दाबारे जानकार अदालतका एक कर्मचारीका अनुसार अरू प्रमाण जे–जस्तो भए पनि पीडितको निवासभित्र पसेपछि के भयो भन्नेबारे पीडित र आरोपितबाहेक अरूलाई थाहा थिएन।

‘अरू प्रमाण नभएको अवस्थामा उनीहरूको बयानलाई नै अदालतले प्रमाणका रूपमा ग्रहण गरेको हुनुपर्छ,’ ती कर्मचारीले भने, ‘पीडितले स्वास्थ्य परीक्षणका क्रममा कुटपिटबाट चोट र दाग भएको भनेर रिपोर्टमा लेखिएका कुरालाई अदालतले कसरी हेर्‍यो, पछि पूर्णपाठ आएपछि मात्रै थाहा होला।’

किटानी जाहेरी दिने ‘नयाँ बानेश्वर २६’ ले आफ्नो मुखमा महराले बारम्बार प्रहार गरेको र ब लात्कारको प्रयास गरेको दाबी गरेकी थिइन्।

‘उनले मेरो मुखमा बारम्बार मुक्का हाने, अनि मैले पछाडिबाट पेन्टमा समाएँ र प्रहरीलाई बोलाउने चेतावनी दिएँ,’ प्रहरी प्रतिवेदनमा उल्लेखित मेडिकल रिपोर्टमा भनिएको थियो, ‘अनि मैले गुहार मागेर चिच्याएँ, त्यसपछि उनी भान्साकोठाको ढोका प्रयोग गरेर भागे। ममाथि आ क्रमण गर्दा उनी मदिराले मातेका थिए।’

पछि पीडितले भने आफ्नो भनाइ फेरेकी थिइन्। उनले आफूलाई प्रहरीले दबाबमा पारेर किटानी जाहेरी दिन लगाएको बयान दिएकी थिइन्। सरकारी वकिल कार्यालयका अधिकारीहरूले भने पूर्णपाठ आएपछि मात्रै सफाइको आधार थाहा हुने भन्दै अहिल्यै प्रतिक्रिया दिनु हतारो हुने बताए। यो खबर आजको कान्तिपुरमा कृष्ण ज्ञवालीले लेखेका छन्।

महराले ब लात्कारको आरोपबाट सफाइ पाए पनि प्रहरी र सरकारी वकिलको दाबीअनुसार आरोप पुष्टि हुने कैयौं प्रमाण थिए । प्रहरीले दाबी गरेका प्रमाणभन्दा महरा र पीडितको बकपत्रलाई अदालतले महत्त्वपूर्ण प्रमाण मानेर उनीहरूकै बयानअनुसार घटना भएको पुष्टि नभएको दाबी गरेको देखिन्छ । आरोपपत्रमा प्रहरीले प्रमाण भनी दाबी गरेका कैयौं विवरण छन्, जसलाई अदालतले स्वीकार गरेको देखिँदैन।

गत असोज १२ मा महरा ‘नयाँ बानेश्वर २६’ को कोठामा पुगेको र दुवै पक्षबीच छिनाझप्टी हुँदा महराको चस्मा खसेर फुटेको थियो। सिसासहितको एउटा फ्रेम महराले लगेपछि एउटा आँखाको सिसा र चस्माको खुट्टा पीडितकै कोठामा छुटेको थियो। आरोपपत्रको दाबीअनुसार ‘घटनास्थलमा भेटिएको चस्माको सिसा र फ्रेमको डन्डी महराकै हो भन्ने तथ्य स्थापित भएको देखिन्छ।’

महरामाथि सभामुखको पद दुरुपयोग गरेको आरोपसहित सरकारी वकिलले ‘निवासबाट बाहिर निस्कँदासमेत आफ्ना वरिष्ठ सुरक्षाकर्मीलाई यकिन जानकारी नदिएको’ आरोप लगाएको थियो। पीडितलाई मादक पदार्थ सेवन गर्न कर लगाएको अनि सार्वजनिक पदको लाभ लिएको आरोप पनि अभियोगपत्रमा थियो ।

प्रहरीको कन्ट्रोल रुममा परेको उजुरीलाई पनि प्रमाणका रूपमा पेस गरिएको थियो । घटना हुने दिन बेलुकी ८ बजेर ४० मिनेट जाँदा ‘नयाँ बानेश्वर २६’ ले आफूमाथि महराबाट बलात्कार प्रयास भएको भनी १०० मा फोन गरेकी थिइन्।

रानीपोखरीस्थित आयुक्तको कार्यालयमा रहेको ‘कन्ट्रोल रुम’ले त्यो सूचना तत्काल बानेश्वर वृत्तलाई पठाइदियो । त्यही सूचनाका आधारमा बानेश्वरबाट प्रहरी घटनास्थल पुगेर पीडितलाई भेटेका थिए। अनुसन्धानक्रममा महराले ‘फर्गेट यस्टर्डे (हिजोको कुरा बिर्सिदेऊ) भनी गरेको म्यासेजलाई प्रमाणका रूपमा पेस गरिएको थियो।

प्रहरीले महराको सुरक्षामा खटिएका सेना, सशस्त्र र जनपदका आधा दर्जन सुरक्षाकर्मीसँग बयान लिएको थियो । उनीहरूले पीडितको कोठा बाहिरसम्म आफूहरू गएको अनि महरा भित्र गएर फर्किएको बयान दिएका थिए । सीसीटीभी फुटेज हेर्दा महरा करिब एक घण्टाभन्दा बढी समय पीडितको कोठामा बसेको सरकारी वकिलको दाबी थियो ।

उजुरीकर्ताको अनुहार र हातमा लागेको चोटलाई बलात्कारको प्रयासकै परिणामका रूपमा चित्रण गरिएको थियो । आलो घाउचोटले ब लात्कारको प्रयासका क्रममा ‘नयाँ बानेश्वर २६’ माथि हातपात र आक्रमणसमेत भएको आरोपपत्रमा दाबी थियो । प्रहरीले प्रमाणका रूपमा घटनास्थलको फोटो, भिडियो, चस्माको डन्डी र सिसा, मदिराको बोतल र गिलास अनि महराको जुत्ताको तलुवासमेत अदालतमा पेस गरेको थियो।

महराले बयानका क्रममा आफूमाथिको आरोपलाई ‘प्रायोजित’ भनी टिप्पणी गरेका थिए। उनले अदालतमा पनि त्यही भनाइ दोहोर्‍याए। ‘मलाई फसाउन कसैले आफ्नो जुत्ताको तलुवा पीडितको कोठामा लगेर राखेको हुन सक्ने’ भनी प्रतिक्रिया दिएका थिए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।