बेइजिङ र सिड्नी उड्दै नेपाल एअरलाइन्सको वाइडबडी

काठमाण्डौ – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) को दुई वाइडबडी जहाज आज चीनको बेइजिङ र अस्ट्रेलियाको सिड्नीमा चार्टर्ड उडान गर्दैछ ।

निजी व्यवसायीले अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन तथा सम्बन्धित देशले आफ्ना नागरिक ल्याउन निगमको वाइडबडी जहाज चार्टर्ड गरेका हुन् । उडान तालिकाअनुसार पहिलो चार्टर्ड उडान अस्ट्रेलियाको सिड्नीमा हुनेछ । वाइडबडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १ः३० बजे उड्ने र भोलिपल्ट साँँझ ५ बजे काठमाण्डौ विमानस्थलमा अवतरण गर्नेछ ।

दोस्रो जहाजले साँझ ५ः३० बजे बेइजिङमा कार्गो उडान गर्नेछ । भोलिपल्ट काठमाण्डौ फर्कने तालिका छ । दुवै अन्तर्राष्ट्रिय गन्तव्यको उडान निर्धारित तालिकामै हुने निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो ।

प्रवक्ता खड्काका अनुसार नेपालमा रहेका दुई सय ६४ अस्ट्रेलियाली नागरिक लिएर निगमको वाइडबडी जहाजले सिड्नी गन्तव्यमा चार्टर्ड उडान गर्न लागेको छ । वाइडबडी जहाज अस्ट्रेलियाबाट रित्तै फर्कनेछ । लोड कम हुने भएकाले सिधा सिड्नी–काठमाण्डौ उडान हुने जनाइएको छ । निगमले यसअघि चैत १९ गते अस्ट्रेलियाको ब्रिश्वेनमा चार्टड उडन गरेको थियो । मलेसिया ट्रान्जिट हुँदै अस्ट्रेलियासम्मको यो उडान झण्डै १३ घण्टाको थियो । निगमको फेरि अस्ट्रेलिया उडान क्वालालम्पुर ट्रान्जिट भएर सिड्नी पुग्नेछ भने सिड्नीबाट फर्कँदा सिधैँ काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । काठमाण्डौ–सिड्नी साढे १२ घण्टाको उडान हुनेछ ।

बेइजिङ पहिलो र ऐतिहासिक उडान

नेपाल एअरलाइन्सको बेइजिङ उडान पहिलो र ऐतिहासिक उडान हुनेछ । अहिलेको विषम परिस्थितमा गर्न लागिएको कार्गो उडान भए पनि बेइजिङ उडान निगमको उड्डयन इतिहासमै पहिलो पटक भएको निगमले उल्लेख गरेको छ । काठमाण्डौ–बेइजिङ झण्डै सात घण्टाको उडान हुनेछ ।

निगमले यसअघि चीनको शङ्घाई हुँदै जापानको ओसाका उडान गर्ने गरेको थियो । सन् १९८४ ताका निगमले यो गन्तव्यमा उडान सुरु गरेको भए पनि अप्रिल १२ सन् २००७ मा जहाज अभावले ओसाका उडान बन्द भएको थियो । अघिल्लो वर्ष भदौ १२ देखि फेरि उडान सुरु गरिए पनि विसं २०७६ फागुन १९ देखि जापानकै नारिता उडान सुरु भएपछि ओसाका गन्तव्यको उडान बन्द भएको थियो ।

निगमले चीनको ग्वान्झाओमा व्यावसायिक उडानका लागि अनुमति पाएको थियो । नेपालमा कोभिड–१९ नियन्त्रणका लागि लकडाउन गरिएपछि उडान हुनसकेको छैन । बेइजिङलगायत गन्तव्यमा निरन्तर पहल गरिए पनि अझै उडान अनुमति पाउन सकेको छैन । अहिले नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने नेपालको निजी लगानी र चीनको संयुक्त लगानी भएको हिमालय एअरलाइन्सले चीनको बेइजिङ र छोङ्गिनलगायत गन्तव्यमा उडान गर्दै आएको छ । निगमले भने (सुरुको शङ्घाई उडानबाहेक) अहिलेसम्म चीनमा व्यावसायिक उडान गर्न पाएको छैन । बेलाबखत कार्गो तथा चार्टर्ड उडान मात्रै हुँदै आएको छ ।

वैशाख ३० गते दक्षिण कोरियामा उडान

निगमको वाइडबडी जहाजले दक्षिण कोरियामा पनि चार्टर्ड उडान गर्दैछ । आगामी १२ मेका लागि दक्षिण कोरियाको सिओल उडान गर्ने निश्चित भएको निगमकी प्रवक्ता खड्काले जानकारी दिनुभयो । वैशाख ३० गते ५ बजे उडान गर्ने छ भने भोलिल्ट ८ः४५ बजे काठमाण्डौ अवतरण हुनेछ । नेपाली कामदारलाई दक्षिण कोरिया लैजान गैरआवासीय नेपाली सङ्घ कोरियाले जहाज चार्टर्ड गरेर लैजान लागेको जनाइएको छ । काठमाण्डौ विमानस्थलबाट कोरियाको सिओलको इङचोन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान हुनेछ ।

मन्त्रिपरिषद्को वैशाख १४ गतेको निर्णय अनुसार ईपीएस प्रणाली अन्तर्गत कोरिया काम गर्ने अनुमति प्राप्त वैध प्रवेशाज्ञा (भिसा) भएका, अहिले बिदामा रहेका नेपाली स्वेच्छाले आफ्नो काममा फर्की जान चाहेमा उनीहरुको स्वास्थ्य परीक्षण गराइ उनीहरुकै खर्चमा चार्टर्ड उडानबाट जान स्वीकृति दिने निर्णय गरेको थियो । त्यही अनुरुप कोरिया उडान गर्न लागिएको हो ।

देशमा जारी लकडाउन तथा अन्तर्राष्ट्रिय हवाई आवागमन स्थगन गरिएको अवस्थामा नेपाल एअरलाइन्सले चार्टर्ड तथा कार्गो उडान गरिरहेको छ । निगमले अस्ट्रेलिया र चीनमा फेरि उडान गर्न लागेको हो । लकडाउनको अवधिमा सर्वाधिक उडान गरेको नेपाल एअरलाइन्सले भारत, बङ्गलादेश, जापान र अस्ट्रेलियामा चार्टर्ड उडान गर्‍यो भने चीनको ग्वान्झाओमा चार कार्गो उडान गरेको छ ।

लकडाउन अवधिमा आठ अन्तर्राष्ट्रिय उडान गरेको नेपाल एअरलाइन्सलको वाइडबडी जहाजले पहिलो पटक चैत १६, २० र २४ गते चीनको ग्वान्झाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो । त्यस्तै चैत २८ गते जापानको नारितामा चार्टर्ड उडान गरेको थियो । भारतको नयाँ दिल्ली र बङ्गलादेशको ढाकामा पनि निगमले चार्टर्ड उडान गरेको थियो । अहिले दुई वाइडबडी ए–३३० र दुई थान न्यारोबडी ए–३२० सिरिजको जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको छ ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।