धनकुटाको साँगुरीगढि गाउँपालिका अध्यक्षको कार्यकक्षमा तालाबन्दि !
धनकुटा खबर । वडामा विनियोजन हुँदै आएको विकास बजेट ब्यापकरुपमा कटौती गरिएको भन्दै वडाध्यक्षहरुले धनकुटाको साँगुरीगढि गाउँपालिका अध्यक्षको कार्यकक्षमा बिहीबार तालाबन्दी गरेका छन् ।
चालु आर्थिक बर्षका लागि बिनियोजित ५० लाख रुपैयाँबाट घटाएर आउँदो आर्थिक बर्षका लागि प्रति वडा २० लाख रुपैयाँमा सिमित गर्ने निर्णय गरिएको भन्दै साँगुरीगढि गाउँपालिका वडा नं. ४, ५ र ६ का अध्यक्षहरुले गाउँपालिका अध्यक्ष कुमारजंग याखाको कार्यकक्षमा तालाबन्दि गरेका हुन् । तालाबन्दीको समयमा अध्यक्ष याखा कार्यालयमा उपस्थित थिएनन् ।

तालाबन्दी अघि उनिहरुले उपाध्यक्ष बिन्द्रा राई लाई ध्यानाकर्षण पत्र बुझाएका थिए । बहुमतको आडमा कार्यपालिका बैठकमा समेत छलफलै नगरि एकलौटी ढंगबाट अध्यक्ष याखाले बजेट कटौतीको निर्णय लिएको असन्तुष्ट वडाध्यक्षहरुको आरोप छ । असन्तुष्ट वडाध्यक्षहरु खड्गबहादुर लिम्बु, पलकबहादुर बस्नेत र यमप्रकास मगरले पत्रकार सम्मेलन गरि बजेट कटौतीको एकलौटी निर्णय फिर्ता नलिए आन्दोलन थाल्ने चेतावनी दिएका हुन् ।
उनिहरुले बजेट कटौतीको निर्णय तत्काल फिर्ता नलिए धर्ना र जनप्रदर्शनका कार्यक्रम सार्वजनिक गरेका छन् । उपाध्यक्ष राईले छलफलका माध्यमबाट समस्याको समाधान खोजिने बताएकि छिन् । उनले असन्तुष्ट जनप्रतिनिधिको मागका सम्बन्धमा पालिका अध्यक्षलाई जानकारी गराएर तत्कालै छलफलका लागि पहल थाल्ने जनाइन् ।


