धनकुटाको हिलेमा पार्क, भ्युटावर र स्विमिङ पुल धमाधम बनाईदै
शर्मिला राई, धनकुटा खबर । धनकुटाको पर्यटकीय स्थल तथा मुख्य व्यापारिक केन्द्र हिले सहित १ नं वडा आसपासका विभिन्न पर्यटकीय स्थल विकासका लागि चालु आर्थिक वर्षमा हिले पार्क निर्माण, भ्युटावर निर्माण शूरु, स्विमिङ पुल वनाउने लगायतका कामहरु भईरहेका छन् ।
जसअनुसार प्रदेश सरकारबाट चालु आ.व मा प्राप्त ८० लाख बजेट मार्फत हिले बजारमा हिले पार्क निर्माण भईरहेको छ । यहि असार मसान्त सम्म काम सक्ने गरी निर्माण भईरहेको यो पार्कको काम करिव ९० प्रतिशत सकिएको धनकुटा नगरपालिका १ नं वडाध्यक्ष निरेन तामाङले वताउनुभयो। उहाँका अनुसार यो पार्क ४ कोठे भवन सहितको हुने छ । यो भवनको भुँई तलामा पर्यटकीय क्षेत्रको सूचना लिने ठाउँ, यहाँका वृद्धवृद्धाहरुका लागि दैनिक भलाकुसारी गर्न वस्ने ठाउँ वृद्ववृद्वा मिलन चौतारी हुने र माथिल्लो तलामा पानीको फोहरा निकालिने, वरिपरी फुलवारी वनाईने उहाँले वताउनुभयो । यो पार्कमा अव तार घेरावारा गर्ने र ढोका लगाउने काम बाँकी छ ।

त्यस्तैगरी दुई वर्ष सम्ममा सम्पन्न गर्नेगरी हिले वजार क्षेत्र मै घण्टाघर सहितको ५ तले भ्यूटावर निर्माणको काम यसपालिदेखी शूरु भएको छ । आवधिक योजना अन्र्तगत नगरको चालु आ व को ४० लाख वजेटमा निर्माण कार्य थालिएको यो भ्यूटावरको काम अहिले करिव २५ प्रतिशत पुगेको छ । २ करोड ३५ लाख लागतमा पूरा काम सक्ने लक्ष राखिएको यो भ्यूटावर कफी सप देखी वेलुकी ९ वजे सम्म नाईट मार्केट र साँसकृतिक कार्यक्रमहरु समेत सञ्चालन गर्ने योजना रहेको वडाध्यक्ष तामाङको भनाई छ ।
त्यस्तैगरी वडा नं १ कै ओक्मालुङ स्थितको सात तले लुङधाङ गुफा नजिकै रहेको झर्नामा भू-संरक्षण कार्यलयवाट प्राप्त १० लाख वजेट मार्फत स्विमिङ पुल निर्माण गरिएको छ । प्रदेश सरकारबाट प्राप्त ४० लाख वजेट मार्फत लुङधाङ गुफामा भर्याङ तथा रेलिङ लगाउने र सार्वजनिक शौचालय निर्माण गर्ने काम गरिएको छ । यहाँ होम स्टे सेवा सञ्चालनका लागि स्थानियलाई तालिम समेत दिईएको छ । आरम्भमा ५ घरबाट थाल्ने लक्ष राखिएको यो सेवा आगामी मंशिर महिना सम्म सञ्चालनमा ल्याउने गरी तयारी भईरहेको छ । यहाँको होम स्टेमा स्थानिय स्तरमै उत्पादित खानाका परिकार एवम् फलफुलहरु उपलव्ध गराईने छ । प्रदेश सरकार मार्फत डिपीआर समेत गरिसकिएको धनकुटा १ हिले तोङ्गवा चोक देखी गुफा सम्म पुग्ने ५ किलो मिटर वाटो निर्माणका लागि आगामी आर्थिक वर्षमा काम हुने गरी केन्द्र सरकारले ४ करोड वजेट समेत विनियोजन गरिसकेको वडाध्यक्ष तामाङ्गले वताउनुभयो ।

यता १ नं वडा हिले वजार नजिकैको धार्मिक पर्यटकीय स्थल वक्रकुण्ड पञ्चेश्वर महादेवको मन्दिर प्राङ्गणमा नगरको चालु आर्थिक वर्षको २० लाख र वडाको २ लाख गरी जम्मा २२ लाखको लागतमा शेष नागको मूर्ति वनाउने,पानीको फोहरा निकाल्ने, करिव २ मिटर सडकमा व्लक विछ्याउने, यसअघि निर्माण गरिएको एकसय आठ सिंढीमा रेलिङ्ग लगाउने,टायल ओछ्याउने काम भईरहेकाछन् । यी काम झण्डै ७५ प्रतिशत सकिएको वडाले जनाएको छ । यो मन्दिर क्षेत्रमा धुपी र गुराँसका थप विरुवाहरु पनि रोपण गरिने छ ।
त्यस्तै पाख्रीवास नगरपालिका र धनकुटा नगरपालिका १ हिलेको सिमानामा अवस्थित पर्यटकीय स्थल तथा पीकनिक स्पाेर्ट जौटार सामुदायिक वनमा सार्वजनिक शौचालय निर्माण गरिदै छ । प्रदेश नं १ का सांषद ईन्द्रमणी पराजुलीको सञ्चय कोषबाट प्राप्त १० लाख को लागतमा वन्दै गरेको शौचालयको काम अहिले झण्डै ७० प्रतिशत पुरा भएको जनाईएको छ । शाैचालय निर्माणकाे काम असार मसान्त सम्म सक्नुपर्नेछ ।

हिले सिरान कै अर्को धार्मिक पर्यटकीय स्थल रत्न षडेश्वर शिवालय मन्दिरमा चालु आर्थिक वर्षमा नगरको १० लाख वजेट मार्फत वाल उठाउने,भुँई तला प्लास्टर गर्ने लगायतका काम गरिएको छ भने हिले वीच वजार स्थितको आउदो वर्ष थप व्यवस्थित गर्ने तयारी गरिएको वडाध्यक्ष तामाङ्गले वताउनुभयो ।


