विश्व बैंक र सरकारबीच १० करोड डलर आर्थिक सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौँ, असार १० गते । विश्व बैंकले नेपालको ऊर्जा विकाससँगै कोभिड–१९ को सङ्कट व्यवस्थापनका लागि १० करोड डलर बराबरको आर्थिक सहायता दिने भएको छ ।

अर्थ मन्त्रालयमा आज विश्व बैंकसँग विकास नीति ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । अर्थ सचिव शिशिरकुमार ढुङ्गाना र विश्व बैंकका नेपालस्थित देशीय निर्देशक फारिस हदाद जार्भोसले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

यो ऊर्जा क्षेत्रसँग सम्बन्धित दोस्रो सम्झौता हो । ऊर्जा क्षेत्रको वित्तीय अवस्थामा सुधार ल्याउन र कोभिड–१९ सङ्कटसँग जुध्न सघाउने उद्देश्यले सहयोग गरिएको विश्व बैंकले जनाएको छ ।

सहयोग रकम नेपालको ऊर्जा क्षेत्रको सम्भाव्यतालाई पहिल्याउन नीतिगत र संस्थागत सुधारमा खर्च गरिने सम्झौतापत्रमा उल्लेख छ । यो सहयोगअन्तर्गत नेपाल विद्युत् प्राधिकरणलाई वित्तीयरुपमा सबल बनाउने, स्वायत्त, पारदर्शी र जवाफदेही नियमनकारी निकाय खडा गर्ने, ऊर्जाको क्षेत्रीय बजारमा हिस्सा अभिवृद्धि गर्ने र सङ्घीय ढाँचाअनुरुप प्राधिकरणको प्रादेशिक र स्थानीय तहमा संरचना खडा गर्ने काम हुनेछ ।

हालैका वर्षमा देशव्यापी विद्युत् कटौतीको स्थितिलाई अन्त्य गर्दै नेपालको ऊर्जा क्षेत्रले विद्युत् उत्पादनमा अभिवृद्धि, चुहावट नियन्त्रण र अन्तरदेशीय प्रसारण लाइन विस्तारमा उल्लेख्य उपलब्धि हासिल गरेको छ । अहिले नेपालमा कूल जनसङ्ख्याको ८८ प्रतिशत जनतामा विद्युत् पुग्न सकेको छ ।

उक्त समारोहमा सचिव ढुङ्गानाले नेपालको सामाजिक, आर्थिक विकासमा सहयोग गरेकोमा विश्व बैंकलाई धन्यवाद दिँदै यसले ऊर्जा क्षमताको समुचित विकास गरी विद्युत् सुविधाको पहुँच वृद्धिका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले कोभिड–१९ को महामारीको सङ्कटपूर्ण अवस्थामा उपलब्ध भएको सहयोगले ऊर्जा क्षेत्रमा परेको असर कम गर्न र विद्युतीय सुशासन कायम गर्न फलदायी हुने उल्लेख गर्नुभयो । विश्व बैंकका देशीय निर्देशक जार्भोसले कोभिड–१९ सङ्कटका बेलामा र त्यसपछि पनि ऊर्जा क्षेत्रको विकासका लागि विश्व बैंकले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले नेपालको ऊर्जा क्षेत्रलाई भरपर्दो र दिगो बनाउने तथा गरिबी निवारण र मुलुकको समृद्धिमा समेत सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालसँगको ५०औँ वर्षसम्मको सम्बन्धलाई निरन्तरता दिँदै सहयोग गर्न पाएकामा खुशी व्यक्त गर्नुभयो । कोभिड–१९ का समयमा दीर्घकालीन योजना सम्पन्न गर्न पनि सघाउने उहाँले आशा व्यक्त गर्नुभयो ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।