शहिदभुमि गाउँपालिका ६ द्वारा सुकेआहाल टोलका एकल महिलालाई जस्तापाता र काठ प्रदान
भाद्र २६,धनकुटा । नेपाली कांग्रेस शहिदभुमि गाउँपालिका ६ ले सुकेआहाल टोलका एकल महिलालाई जस्तापाता र काठ प्रदान गरेको छ ।
जनानेता विपी कोइरालाको १०७ औं जन्मजयन्तीको अवसर पारेर उस्ले सुकेआहाल टोलका नेपाली कांग्रेसका क्रियाशील सदस्य स्व चन्द्र बहादुर राईको धर्मपत्नी एकल महिला बत्तिमाया राई लाई ती सामाग्री सहयोग गरेको हो ।

उनको घरको छाना चुहिदै गरेकोले छाना मर्मतका लागि २७ हजार बराबरको दुई बण्डल आधा जस्तापाता तथा २ सय ८४ फूट उत्तिस र चिलाउने जातको काठ हस्तान्तरण गरिएको नेपाली कांग्रेसका वडा सचिव प्रदिप भण्डारीले जानकारी दिनुभयो ।
नेपाल सरकारको फूसको छाना हटाउ अभियानमा वडा सरकारले राजनीतिक पूर्वग्रह राखेर विभेद गरेको कारण एकल महिला बत्तिमायाको घरको छाना नेपाली कांग्रेसले लगाइ दिएको पार्टीका शहिदभुमि गाउँपालिकाका सचिव रूद्र बहादुर राईको भनाई छ । नेपाली कांग्रेसले गाउँपालिका तथा वडाहरूको बारेमा तीन वर्षसम्म विकासमा कुनै अवरोध नहोस भनी सकारात्मक साथ दिएको जनाएको छ ।
सकारात्मक साथलाई कमजोरी नठान्न स्थानीय सरकार र वडा सरकारहरूलाई नेपाल तरूण दलका जिल्ला सचिव नरेन्द्र राईले चेतावानी दिनुभएको छ ।सरकारले योजना आयोजनामा राजनितीक आग्रह र पूर्वाग्रह नराखि काम गर्न पनि भनेको छ । यदि त्यसो नभए उत्पन्न हुनसक्ने परिस्थितिको सम्पूर्ण जिम्मेवारी स्थानीय सरकार र वडा सरकारले लिन पर्ने समेत सचिव राईले बताउनु भयो ।
अब नेपाली कांग्रेसले सहिदभुमि गाउँपालिका तथा वडाहरूको विषयहरूमा शसक्त रुपमा आवाज उठाउदै जनतामाझ जाने सो पाटीकी नेतृ कमल कुमारी राईले बताउनु भयो । नेपाली कांग्रेसका अग्रज सुरेन्द्र कुमार राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा दलित संघका जिल्ला उपाध्यक्ष धन बहादुर परियार,सुकेआहाल टोल समितिका क्रियाशील सदस्य प्रताप राई,राम प्रसाद राई,क्रियाशील सदस्य राम कुमार राई,क्रियाशील सदस्य यज्ञ कुमार राई,नेपाल तरूण दलका सहिदभुमि गाउँपालिकाका सदस्य नरेश राई लगायतकाको उपस्थिति थियो ।


