आन्तरिक उडानको ५० प्रतिशत बुकिङ

काठमाडौँ । कोभिड–१९ महामारीका कारण विगत ६ महिनादेखि बन्द रहेको मुलुकको आन्तरिक हवाई उडान यही असोज ५ देखि नियमित सञ्चालन हुँदैछ । बन्दाबन्दीले छ महिना व्यवसाय ठप्प प्रायः रहेको आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले महामारीबाट बचेर सुरक्षित उडानका लागि सबैखाले तयारी गरिसकेका छन् ।

स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गर्दै सुरक्षित उडान सुनिश्चितताका लागि वायुसेवा कम्पनीले नेपाल सरकार तथा विश्व स्वास्थ्य सङ्गठनको स्वास्थ्य मापदण्डलाई आत्मसात् गरी यात्रुको सुरक्षाका लागि आवश्यक प्रक्रिया अपनाएर सेवा सञ्चालन गर्नेछन् । यही असोज ५ गतेदेखि उडान शुरु हुने भएपछि आन्तरिक उडानका ठूला वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स लगायतले बुकिङ खुलाइसकेका छन् । शुक्रबारदेखि बुकिङ खुलिसकेको एयरलाइन्सले बताएका छन् । अहिले अधिकांश एयरलाइन्सको ५० प्रतिशत बुकिङ भइसकेको जनाइएको छ ।

शुरुआती चरणमा एयरलाइन्सको बुकिङ सन्तोषजनक रहेको वायु सेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले बताउनुभयो । “असोज ५ गतेदेखि सबै प्रकारका आन्तरिक उडान शुरु हुँदैछन् । शुरुआती चरणमा बुकिङ उत्साहजनक छ, यात्रुको माग र बजारको आवश्यकताका आधारमा उडान बढाइनेछ”, उहाँले भन्नुभयो । एयरलाइन्सले जहाजमा पूर्ण क्षमतामै यात्रु राख्न पाउने भएपछि हवाईभाडा पनि नबढ्ने जनाइएको छ ।

सरकारले तोकेको हवाई भाडादरमै आन्तरिक उडानका वायुसेवा कम्पनीले सेवा सञ्चालन गर्ने सङ्घले जनाएको छ । शुरुको एक साता आन्तरिक उडानका एयरलाइन्सलाई २५ प्रतिशतमात्र उडान अनुमति दिइएको छ । छिट्टै उडान सङ्ख्या वृद्धि गरिने कम्पनीले जनाएका छन् । नियमित उडानको सम्पूर्ण व्यावसायिक तयारी गरेको बुद्ध एयरले पहिलो साता २० देखि २२ उडान गर्नेछ । बुद्धले आफ्ना सबै गन्तव्यमा उडान भर्ने जनाएको छ ।

बुकिङ उत्साहजनक रहेको र यात्रुको मागअनुरुप उडान सङ्ख्या बढाउँदै लगिने कम्पनीले जनाएको छ । यती एयरलाइन्सका हवाई सुरक्षा प्रमुख तथा प्रवक्ता सुदर्शन बर्तौलाले कम्पनीका तर्फबाट आन्तरिक उडानको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो । उहाँका अनुसार यती एयरलाइन्सको अहिले ५० प्रतिशत बुकिङ भइसकेको छ । शुरुमा करीब दैनिक १० उडान हुनेछ । अहिलेलाई विराटनगर, पोखरा र चीतवनमा दैनिक दुई तथा अन्य गन्तव्यमा एक–एक उडान गरिनेछ ।

सामान्यको तुलनामा २५ प्रतिशत मात्रै उडान गर्न भनेकाले कम उडान सङ्ख्या निर्धारण गरिए पनि क्रमशः यात्रुको मागअनुरुप उडान बढाउँदै लगिने प्रवक्ता बर्तौलाले उल्लेख गर्नुभयो । सरकारले असोज १ देखि नै आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरे पनि वायुसेवा सञ्चालकले पूर्ण क्षमतामा यात्रु बोक्न पाउनुपर्ने अडान लिएका थिए । शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक उडानका जहाजले शत्प्रतिशत यात्रु बोक्न पाउने निर्णय गरेपछि एयरलाइन्स कम्पनी ५ असोजदेखि उडान सञ्चालन गर्न सहमत भएका हुन् ।

शुरुमा आन्तरिक उडानका जहाजले ५० प्रतिशत मात्रै यात्रु बोक्न पाउने व्यवस्था गरिएको थियो । व्यवसायीले विरोध जनाएपछि शत्प्रतिशत यात्रु राखेर उडाउने निर्णय गरिएको हो । महामारी नियन्त्रणका लागि सरकारले देशभर लागू गरेको बन्दाबन्दी र पछिल्लो निषेधाज्ञाका कारण मुलुकको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध थियो । अन्तर्राष्ट्रिय उडान भने भदौ १६ देखि सञ्चालनमा आएको छ । असोज १ देखि अन्तर्राष्ट्रिय उडान सङ्ख्या बढाउनाका साथै सार्वजनिक यातायातका साधन पनि सञ्चालनमा आएको छ ।

बन्दाबन्दीको छ महिनापछि होटल तथा रेस्टुरा व्यवसाय पनि शुरु भइसकेको छ । यसैबीच वायुसेवा सञ्चालक सङ्घले एक विज्ञप्ति जारी गर्दै आन्तरिक हवाई उडान खोल्ने सरकारको निर्णयको स्वागत तथा आभार प्रकट गर्दै आन्तरिक उडानका लागि शुक्रबार पर्यटन मन्त्रालयबाट भएको निर्णय अनुरुप पूर्ण परिपालना गरी सबै वायुसेवाहरुले उडान पुनः सञ्चालन गर्ने जनाएको छ । सङ्घका अध्यक्ष क्या. रामेश्वर थापाले मन्त्रालय र नियामक निकायको निर्देशन पूर्ण पालना गर्दै कोभिड रोकथाम तथा जोखिम न्यूनीकरण गर्ने कार्यमा सङ्घले सबै वायुसेवाहरुको पूर्ण सहयोग रहने विश्वास दिलाउनुभएको छ । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।