विदेशमा सिकेको ज्ञान, सीप र प्रविधि स्वदेशमा हस्तान्तरण गर्ने सुनौलो अवसर आएको छ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशमा नेपालीले सिकेको ज्ञान, सीप र प्रविधि नेपालमा हस्तान्तरण गर्ने सुनौलो अवसर आएको बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) एसिया प्यासिफिकको आठौँ क्षेत्रीय भेला तथा पहिलो विज्ञ सम्मेलनलाई आज सम्बोधन गर्दै उहाँले कोभिड–१९ पछिको नेपालको अर्थतन्त्रलाई उकास्न नयाँ प्रविधिको माध्यमबाट मुलुकको समृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री ज्ञवालीले कोभिड–१९ को कारण विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउने कार्य तीव्र गतिमा भइरहेको जानकारी गराउँदै वर्तमान असहज परिस्थितिलाई अरु बेला जस्तै सहज रुपमा नलिन पनि आग्रह गर्नुभयो । “विदेशमा अलपत्र नागरिक फर्काउने क्रममा केही कठिनाइ भएको छ, असहज परिस्थिति भएकाले पनि सोचे जस्तो नहुन सक्छ भन्ने कुरा बुझिदिन आग्रह गर्दछु”, उहाँले भन्नुभयो । उहाँले तेस्रो मुलुकबाट झन्डै तीन लाख नेपाली स्वदेश फर्कन लागेको र अहिलेसम्म ७६ हजार बढी नेपालीलाई उद्धार गरिएको बताउनुभयो ।

भारतबाट मात्र पाँच लाख नेपाली स्वदेश फर्किएको र तेस्रो मुलुकसहित गरी करिब १० लाख वैदेशिक रोजगारीमा रहेका नेपाली स्वदेश फर्कन लागेकाले तत्काल उनीहरुलाई रोजगारी सिर्जना गर्नु अर्को चुनौती रहेको पनि बताउनुभयो । नेपालको आर्थिक समृद्धिमा गैरआवासीय नेपालीको योगदान रहेकाले अब नेपालमा लगानी गरी रोजगारी सिर्जना गर्ने वातावरणमा सहयोग गरिदिन पनि मन्त्री ज्ञवालीले आग्रह गर्नुभयो ।

कार्यक्रममा सङ्घका पूर्वअध्यक्ष तथा संरक्षक देवमान हिराचनले नेपालमा विदेशी तथा गैरआवासीय नेपाली लगानी गर्न इच्छुक रहेकाले लगानीको वातावरण सहज बनाइदिन आग्रह गर्नुभयो । सङ्घका प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष शेष घलेले अष्ट्रेलियाको भिक्टोरिया राज्य समन्वय परिषद्लाई त्यहाँको स्थानीय सरकारले एक लाख ५० हजार डलर आर्थिक सहयोग गरेको उदाहरण दिँदै आफू बसेको देशमा विश्वास दिलाउन सकेको खण्डमा स्थानीय सरकारबाट पनि सहयोग मिल्नेतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

सङ्घका अध्यक्ष कुमार पन्तले सङ्घले प्रविधिलाई समय सापेक्ष उपयोग गर्दै ‘स्मार्ट एनआरएन’ अवधारणालाई लागू गर्न लागिपरेको जानकारी गराउनुभयो । उहाँले नेपालको आर्थिक समृद्धिमा थप योगदान गर्न गैरआवासीय नेपाली लागिपरेको बताउनुभयो । म्यानमारका लागि नेपाली राजदूत भीम उदास, नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा डिला सङ्ग्रौलालगायतले विदेशमा नेपालीले सिकेको ज्ञान, सीप र प्रविधिको हस्तान्तरण गर्दै मुलुकको समृद्धिमा लगाउनुपर्नेमा जोड दिनुभएको थियो । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।