२२ जना सुत्केरी महिलाहरुलाई सुत्केरी पोषण सामाग्री वितरण
धनकुटा खबर । धनकुटाको छथरजोरपाटी गाउँपालिका ३ ताङखुवाका २२ जना सुत्केरी महिलाहरुलाई आज सुत्केरी पोषण सामाग्री वितरण गरिएको छ ।

गाउँपालिकाको उपाध्यक्ष सँग सुत्केरी पोषण कार्यक्रम अन्र्तगत स्वास्थ्य सँस्थामा सुत्केरी भएका महिलाहरुलाई प्रति महिला एक केजी घ्यू, एक क्यारेट अण्डा, २ के जी आयोडिन युक्त नुन, वच्चाको लागि एउटा झुल र ५ प्याकेट सेनिटाईजर लगायतका सामाग्री वितरण गरिएको हो ।
ताङ्खुवा स्वास्थ्य चौकीमा सञ्चालित एक कार्यक्रमको वीच उनिहरुलाई ती सामाग्री वितरण गरिएको हो । छथरजोरपाटी गाउँपालिका ३ का कार्यवाहक वडाध्यक्ष तारा वहादुर कार्कीको प्रमुख आतिथ्य तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष लक्षमण लिम्वुको अध्यक्षतामा सञ्चालित कार्यक्रममा कार्यक्रमको उद्देश्यको वारेमा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डङ्गोलले प्रकाश पार्नुभएको थियो ।

सोही क्रममा उहाँले हिजो परेवादिन स्वास्थ्य चौकीमा ८ जना सुत्केरी महिलाहरुलाई पोषण सामाग्री वितरण गरिएको जानकारी गराउनुभयो । पोषण सामाग्री सुत्केरी महिला तथा उनिहरुका आफन्तलाई कार्यक्रमका प्रमुख अतिथि एवम् अतिथिहरुले हस्तान्तरण गरेका थिए । आर्थिक वर्ष २०७६/७७ बाट गाउँपालिकामा शूरु गरिएको यो कार्यक्रम मार्फत गएको वर्ष सो गाउँपालिकाका १ सय ९० जना सुत्केरी महिला लाभान्वित भएका थिए ।


