नेपाल र चीनबीचको सहकार्यले आर्थिक विकासमा रुपान्तरण गर्नेछ : राष्ट्रपति भण्डारी

काठमाडौँ, कात्तिक ४ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले सीमा वारपार रेलवे, सडक तथा सुरुङ निर्माणलगायतमा हुने सहकार्यले नेपाल र चीनका जनतालाई अझ नजीक ल्याउने र नेपालको सामाजिक–आर्थिक विकासमा रूपान्तरणकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ । हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा नेपाल र चीनका राजनीतिक दलबीचको संयुक्त परामर्श संयन्त्रको पहिलो बैठकमा दिनुभएको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले दुवै मुलुकका राजनीतिक दलबीच नियमित संवादका लागि परामर्श संयन्त्र स्थापनाले नेपाल चीन बीचको सम्बन्ध थप प्रगाढ तुल्याउन विशेष योगदान पुग्ने बताउनुभयो ।

राष्ट्रपति भण्डारीको उक्त लिखित सन्देश भर्चुअल बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गर्नुभएको हो । राष्ट्रपति भण्डारीले नेपाललाई भूपरिवेष्टितबाट विश्वका अन्य मुलुक र भूभागसँग बहुआयामिक माध्यमबाट सहज ढङ्गले जोडिएको आधुनिक र विकसित मुलुकका रूपमा रूपान्तरण गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय सङ्कल्पलाई साकार तुल्याउन व्यापक पूर्वाधार विकास र पर्याप्त आर्थिक लगानी एवम् प्राविधिक विकासको खाँचो औँल्याउँदै पूर्वाधार निमाण र सम्पर्क सञ्जालको विकास वेल्ट एण्ड रोड सहयोगको एक महत्वपूर्ण उद्देश्य भएकाले यसको प्रवद्र्धन गर्दै हिमालयपार बहुआयामिक सम्पर्क सञ्जालको निर्माणमा चीनसंँगको साझेदारीलाई अघि बढाउन नेपाल सरकार प्रतिबद्ध रहेको अवगत गराउनुभयो ।

राष्ट्रपति भण्डारीले नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५औंँ वर्ष पूरा भएका अवसरमा चीनका राष्ट्रपति सी चिनफिङ तथा चिनियाँ कम्युनिष्ट पार्टी र त्यहाँका जनताप्रति शुभेच्छा व्यक्त गर्दै बैठकबाट दुवै देशले आपसी लाभ लिन सक्ने अपेक्षा गर्नुभयो । “नेपाल र चीन प्राचीन सभ्यता र समृद्ध संस्कृतिद्वारा अनुप्राणित मैत्रीपूर्ण सम्बन्धमा आबद्ध असल छिमेकी मुलुक हुन् । नेपाल एक चीन नीतिप्रति सदैव प्रतिबद्ध रहिआएको छ । तिब्बत, ताइवान, हङकङ एवम् सिन्जियाङसम्बन्धी मामिलामा चीनप्रति नेपालको पूर्ण साथ र समर्थन छ । नेपालले आफ्नो भूमिमा चीनविरोधी कुनै पनि गतिविधि हुन दिएको छैन र भविष्यमा पनि हुन दिने छैन ।”

उहाँले गत वर्ष आफूले गरेको चीनको राजकीय र चीनका राष्ट्रपतिले गर्नुभएको नेपालको राजकीय भ्रमणको स्मरण गर्दै राष्ट्रपति सीले गर्नुभएको भ्रमण नेपाल र चीनबीच प्राचीनकालदेखि कायम रहिआएको मैत्रीपूर्ण एवम् सहयोगात्मक सम्बन्ध सुदृढीकरणका लागि एक महत्वपूर्ण कोशेढुुङ्गा सावित भएको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले दुवै देशले द्विपक्षीय सम्बन्धको विकास र समृद्धिका लागि अटुट मित्रतापूर्ण रणनीतिक सहयोगात्मक साझेदारी स्तरोन्नति गर्दै ‘वन बेल्ट वन रोड इनिसिएटिभ’ अन्तर्गत हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोगको निर्माणका लागि हातेमालो गरी अघि बढ्ने अठोट प्रकट गरेको उल्लेख गर्नुभयो ।

नेपाल चीन सीमामा थप नाका सञ्चालनमा ल्याई जनताको आवागमन र व्यापार सहजीकरणलाई सहयोग पु¥याउने प्रशस्त सम्भावना रहेकाले यस कार्यमा दुवै सरकारको प्राथमिकता रहने विश्वास प्रकट गर्दै राष्ट्रपति भण्डारीले गत अप्रिलमा राष्ट्रपति सीसँग आफ्नो टेलिफोन वार्ताका अवसरमा दुई देशबीच कोभिड –१९ विरुद्धको लडाइँमा द्विपक्षीय सहयोगलाई सबल पार्ने र महामारीको अन्त्यपछि वन बेल्ट वन रोड अन्तर्गतको सहयोगलाई द्रुत गतिले अघि बढाउने सम्बन्धमा छलफल भएको उल्लेख गर्नुभयो ।

चीनले विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति गरेको जनाउँदै राष्ट्रपति भण्डारीले शताब्दीका दुई महान् लक्ष्य प्राप्तिमा चीन सरकारलाई पूर्ण सफलता प्राप्त हुनेछ भन्ने दृढ़ विश्वास व्यक्त गर्नुभयो । उहाँले चीनको विकास र समृद्धि नेपालका लागि समेत एउटा महत्वपूर्ण अवसर हो भन्नुभयो ।

सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि शुभकामना सन्देश प्रस्तुत गरिएको थियो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता डा रामशरण महत, जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा बाबुराम भट्टराई तथा चीनका तर्फबाट पनि उच्चस्तरीय प्रतिनिधिले सम्बोधन गरी दुई देशबीचको सम्बन्ध र साझेदारीलाई थप प्रभावकारी बनाउन साझा मत व्यक्त गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।