साहित्य महासंघको देउसी कार्यक्रमबाट दक्षिणा डेढलाख उठ्यो
लण्डन, १५ नोभेम्बर २०२० का दिन विश्व नेपाली साहित्य महासंघको भर्चुवल देउसी कार्यक्रमबाट दक्षिणा नेरु १ लाख ४५ हजार उठेको छ ।
साहित्य महासङ्घका पूर्व अध्यक्षहरु, सल्लाहकारहरु, अन्य साहित्यिक संस्थाका प्रतिनिधीहरुलाई औपचारिक निम्तो गरिएको भर्चुवल देउसी कार्यक्रममा अध्यक्ष सुरेन्द्र परदेशीले भट्टाएका थिए भने जुममा जोडिएका सबैले देउसुरे भनेका थिए । शुरुमा सबैलाई तपाईहरुको घरआँगनमा आई पुग्यौ भनेर जानकारी दिदै देउसी शुरु गरेपछि सबैले दक्षिणा बोलेका थिए । त्यसपछि शुभ कामना साटासाट र झण्डै दुई दर्जन सिर्जनाहरु वाचन भएका थिए । लक्ष्मीप्रसाद देवकोटाको बारेमा रसियन कवि लुदमिया सालथिकोभाले समेत रसियन भाषामा कविता बाचन गरेका थिए ।
सल्लाहकार कृष्ण प्रकाश श्रेष्ठ, पूर्व अध्यक्षद्धय डा. मधु माधुर्य, विश्वास दीप तिगेला, म्यानमारबाट विष्णु पन्थी, ताईवानबाट डा. लेखनाथ काफ्ले, दिल्लीबाट डा. नाज सिंह, अनेसास न्यूयोर्कको तर्फबाट राजेन्द्र श्रेष्ठ, हङकङबाट झापाली विश्व नेटवर्कका अध्यक्ष छत्र सुब्बा लगायत १५ भन्दा बढि मुलुकबाट एकैठाँउमा जम्मा भई देउसी खेले ।
महासचिव सुनिता राईको संचालन रहेको कार्यक्रमको सभापतित्व अध्यक्ष परदेशीले भारतबाटै गरेका थिए । देउसी झण्डै ४ घण्टा लामो चलेको थियो ।

