समालोचना कृति ‘अक्षरभित्र चिन्तन’ को विराटनगरमा विमोचन

विराटनगर । साहित्यकार तोमनाथ उप्रेतीको समालोचना सङ्ग्रह ‘अक्षरभित्र चिन्तन’ को शनिबार विराटनगरमा आयोजित एक साहित्यिक समारोहबीच विमोचन गरिएको छ। विराट साहित्य सङ्गम, मोरङको नियमित मासिक साहित्यिक भेटघाट कार्यक्रमका अवसरमा राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सभाहलमा आयोजित कार्यक्रममा विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष तथा प्राज्ञ विवश पोखरेलले कृतिको विमोचन गरेका हुन्।

विराट साहित्य सङ्गम, मोरङका अध्यक्ष मधु पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोपाल निर्भिकले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा समालोचक निर्मला कोइरालाले कृतिमाथि समीक्षा प्रस्तुत गर्दै यसको विषयगत विविधता, समालोचनात्मक दृष्टिकोण र साहित्यिक महत्त्वबारे चर्चा गरिन्। लेखक तोमनाथ उप्रेतीले आफ्ना भनाइ राख्दै कृतिको लेखन उद्देश्य र समालोचनाप्रतिको आफ्नो दृष्टिकोण प्रस्तुत गरेका थिए।

कार्यक्रममा आदर्श माध्यमिक विद्यालय, विराटनगरका पूर्वप्रधानाध्यापक रमानाथ भट्टराई तथा प्रमुख जिल्ला अधिकारी युवराज कटेलले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा साहित्यकार तथा स्रष्टाहरूले कविता वाचनसमेत गरेका थिए। प्रमुख अतिथि प्राज्ञ विवश पोखरेलले नेपाली साहित्यको विकासमा समालोचनाको महत्त्व र साहित्यिक कृतिको गम्भीर अध्ययनले सिर्जनात्मक क्षेत्रमा पुर्‍याउने योगदानबारे धारणा राखेका थिए। अध्यक्ष मधु पोखरेलले समापन मन्तव्य व्यक्त गरेका थिए।

‘अक्षरभित्र चिन्तन’ मा विराटनगरलाई कर्मभूमि बनाएर साहित्यसाधनामा सक्रिय विभिन्न स्रष्टाका कविता, खण्डकाव्य, कथा, मुक्तक, हाइकु, उपन्यास र नाटकलगायतका विविध विधाका कृतिमाथि समालोचनात्मक दृष्टि प्रस्तुत गरिएको छ। यसले स्थानीय साहित्यिक सिर्जनालाई व्यापक नेपाली साहित्यिक परिप्रेक्ष्यमा अध्ययन गर्ने प्रयास गरेको छ।

कृतिमा समेटिएका समालोचनाहरूले साहित्यलाई मनोरञ्जन र भावनात्मक अभिव्यक्तिमा मात्र सीमित नराखी सामाजिक यथार्थ, मानवीय संवेदना, जीवनदर्शन, वर्गीय असमानता, सांस्कृतिक चेतना र सामाजिक रूपान्तरणका प्रश्नसँग जोडेर विश्लेषण गरेका छन्। लेखकले साहित्यिक कृतिको विषयवस्तु, पात्र, भाषाशैली, प्रतीक, संरचना र अन्तर्निहित जीवनदृष्टिको अध्ययनमार्फत सिर्जनाको बहुआयामिक पक्ष उजागर गर्ने प्रयास गरेका छन्।

सङ्ग्रहमा सीमा आभासको उपन्यास ‘महायुग’ र छवि वैरागी घिमिरेको ‘विविशारा’ मार्फत सामाजिक संरचना, शक्ति सम्बन्ध, वर्गीय विभाजन तथा मानवीय मनोविज्ञानका पक्षमाथि चर्चा गरिएको छ। उमेश लुइटेलको कवितासङ्ग्रह ‘आगो खरानी जान्दैन’ मा चेतना, आत्मबोध र जीवनदर्शनका पक्षलाई विश्लेषण गरिएको छ। त्यस्तै, बाबुराम पोखरेलको मुक्तकसङ्ग्रह ‘गोलढुङ्गा’ र मधु पोखरेलको ‘क्वाँटी’ मा जीवनका विविध अनुभूति, सामाजिक चेतना र मानवीय संवेदनाको अभिव्यक्तिलाई समालोचनाको विषय बनाइएको छ।

अर्जुन नेपालको नाटक ‘सीमा’, भवानीप्रसाद पोखरेलको कथासङ्ग्रह ‘कथा र अनुभूति’, लोचन रिजालको खण्डकाव्य ‘भोगाइ’ र हरिप्रसाद अधिकारीको कथासङ्ग्रह ‘चारमन दाउरा’ माथिका समीक्षाले मानवीय सम्बन्ध, सामाजिक यथार्थ, अस्तित्वबोध र जीवनका अन्तर्द्वन्द्वलाई समेटेका छन्। चन्द्रकान्त भट्टराईको ‘वसन्तको पालुवा’, नानुमैया दाहालको ‘खुला आकाशमुनि’, अम्बिका खरेल उप्रेतीको ‘अन्धकारमा जून’, हेमसागर पोखरेलको ‘प्रिय हिमाल’, शैलेन घिमिरेको ‘अनुभूतिका रङहरू’, नेत्र खतिवडाको ‘ढुङ्गो फुलेपछि’ र सिजन श्रेष्ठको ‘हावामा अल्झिएको स्वर’ माथिका समीक्षामा प्रकृतिचेतना, राष्ट्रप्रेम, आशा, संघर्ष, प्रयोगशीलता र स्वतन्त्र चिन्तनका पक्षलाई महत्त्व दिइएको छ।

यसैगरी, भीम केइरालाको ऐतिहासिक उपन्यास ‘महारानी देवलदेवी’ माथिको समीक्षामा मध्यकालीन नेपालको राजनीतिक परिवेश, शक्ति सम्बन्ध, ऐतिहासिक चेतना र मानवीय सम्बन्धका जटिल पक्षको विश्लेषण गरिएको छ।

समालोचक उप्रेतीले साहित्यिक कृतिको मूल्याङ्कन गर्दा लेखकको प्रतिष्ठा वा व्यक्तिगत आग्रहभन्दा पाठगत प्रमाण, ऐतिहासिक तथा सांस्कृतिक सन्दर्भ, कलात्मक संरचना र विवेकपूर्ण विश्लेषणलाई महत्त्व दिनुपर्ने दृष्टिकोण अघि सारेका छन्। साहित्यिक समालोचनालाई प्रशंसा वा निन्दामा सीमित नराखी कृतिका सबल पक्ष, अन्तर्विरोध र सामाजिक अर्थको खोजी गर्ने बौद्धिक अभ्यासका रूपमा प्रस्तुत गर्नु यस सङ्ग्रहको प्रमुख विशेषता रहेको छ।

‘अक्षरभित्र चिन्तन’ ले विराटनगरको साहित्यिक परिवेशमा सक्रिय स्रष्टाहरूका कृतिलाई समालोचनात्मक विमर्शमा ल्याउँदै विराटनगरको साहित्यिक योगदानको अभिलेखीकरण र मूल्याङ्कनमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। यसले सिर्जना र समालोचनाबीच संवाद विस्तार गर्दै नेपाली साहित्यमा आलोचनात्मक चेतना, पाठकीय विवेक र साहित्यिक अनुसन्धानलाई प्रोत्साहन गर्ने आधारसमेत प्रस्तुत गरेको छ।

कार्यक्रममा साहित्यकार, समालोचक, प्राध्यापक, अनुसन्धाता, साहित्यप्रेमी तथा सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖