लिम्बुवान नेपालको सह–राज्यको रूपमा पुनःस्थापना हुनुपर्छ ः लिरामो

लन्डन(यूके) ÷ नेपालमा सात प्रदेशको नामाकरणको चर्चा चलिरहेको बेला लिम्बुवानलाई सह–राज्यको हैसियतमा पुनःस्थापना गरिनुपर्ने लिम्बुवान राष्ट्रिय मोर्चाले माग गरेको छ । १८३१ मा तत्कालीन गोर्खाली शाषकसँग गरेको लालमोहर सन्धीका आधारमा लिम्बुवान राज्य कायम हुनुपर्ने मोर्चाले माग गरेको हो ।

हालै सम्पन्न मोर्चाको चौथो महाधिवेशनले लिम्बुवान पुनःस्थापना गर्न सडक सङ्घर्षदेखि समानान्तर सरकार गठनसम्मको राजनीतिक एजेन्डा पारित गरेको नवनिर्वाचित अध्यक्ष दिल पालुङ्वाले बताए । उनले लिम्बुवानको मुद्दालाई अन्तर्राष्ट्रिय स्तरबाट अनुमोदन गराउन संयुक्त राष्ट्र सङ्घमा समेत जाने तयारी रहेको जानकारी दिए । ‘नेपालको सहराज्यका रूपमा याक्थुङ लाजे लिम्बुवान कायम हुनुपर्छ । यसका लागि हामी सडक र सदनबाट सङ्घर्ष गर्नेछौँ,’ उनले भने, ‘नेपालका शाषकहरूले बेवास्ता गरे समर्थनका लागि संयुक्त राष्ट्र सङ्घमा समेत मुद्दा हाल्नेछौँ ।’ महाधिवेशनले लिम्बुवान पुनःस्थापनासम्बन्धी एघार पृष्ठ लामो राजनीतिक प्रतिवेदन पारित गरेको थियो । मोर्चाको स्थापना सन् २००३ मा भएको थियो ।

नेपालमा तत्कालीन नेकपा माओवादीनिकट भक्तराज कन्दङ्वा नेतृत्वको लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा र गोपाल किराती नेतृत्वको खम्बुवान राष्ट्रिय मोर्चा एकीकरण भई किराती राष्ट्रिय मुक्ति मोर्चा गठन भएपछि लिम्बुवानको मुद्दाको निरन्तरताको खातिर भन्दै लिरामो गठन भएको पालुङ्वाले बताए । दुई मोर्चाहरूको एकीकरण १९ वर्षअघि सङ्खुवासभाको आँखीभुइमा भएको थियो । मोर्चाले पूर्वमा माओवादी जनयुद्ध सञ्चालन हुँदा महत्वपूर्ण भूमिका खेलेको थियो ।

पूर्वमा लिम्बुवान आन्दोलन चर्कँदा लिम्बुवान राष्ट्रिय मोर्चाको भौतिक उपस्थिति शून्यजस्तो रहँदै आएपनि आगामी दिनमा आफ्नो साङ्गठनिक गतिविधिलाई बढाउने अध्यक्ष पालुङ्वाले बताए । उनले लिम्बुवानको मुद्दामा सहमत हुने राजनीतिक शक्तिहरूसँग गठबन्धन गरेर भएपनि अर्को चुनावमा भाग लिने बताए । यसका लागि निकट भविष्यमा दल दर्ता गरेर अघि बढ्ने योजना रहेको सुनाए । उनले महाधिवेशनले तीन चरणको रणनीति तथा कार्यनीति पारित गरेको जनाए । जसअन्तर्गत पहिलो चरणमा जनमत सङ्कलन, प्रचारप्रसार, सरकारलाई मागपत्र बुझाउने र सडक सङ्घर्षसम्मको कार्यक्रम रहेको छ । त्यसैगरी, दोस्रो चरणमा समानान्तर सरकार, भूमिगत सङ्घर्ष र सशस्त्र आन्दोलनसम्म जान सकिने बाटो तय गरिएको छ । तेस्रो चरण्मा आत्मनिर्णयको अधिकार प्रयोग गर्दै जनमत सङ्ग्रह र ग्रेटर लिम्बुवानसम्मको राजनीतिक मुद्दा रहेको छ । २०७२ को संविधान आएपछि लिम्बुवान आन्दोलनको गति सुस्ताएको अवस्थामा मोर्चाले अगाडि सारेका कार्यक्रमहरूको कार्यान्वयनमा भने सङ्गठनको भौतिक अवस्थाले चुनौती सामना गर्नुपर्ने देखिन्छ ।

यसैगरी, महाधिवेशनले दिल पालुङ्वा ‘युमाहाङ’को अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । समितिको उपाध्यक्षहरूमा राज चोङवाङ, हस्त मास्वा र सुरेश सुब्बा, वरिष्ठ नेतामा अविचन्द्र इङ्नाम, महासचिवमा मदन कन्दङ्वा, सचिवमा डम्वर खापुङ र अर्थसचिवमा गीता पालुङ्वा ‘ईक्सा’ रहेका छन् । त्यसैगरी, सदस्यहरूमा डीवी पालुङ्वा, हस्तवीर साँवा र विष्णु लिम्बु रहेका छन् । बाँकी चार सदस्यहरू आगामी बैठकबाट मनोनयन गरिने महासचिव कन्दङ्वाले बताए । समितिमा नेपाल, हङकङ, यूके लगायतका विभिन्न मुलुकबाट प्रतिनिधित्व हुने गरी पदाधिकारी एवम् सदस्यहरू राखिएको उनले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।