३७ करोडको लागतमा छथरको सिंभुवामा औधोगिक ग्राम निर्माण हुंदै
नारायण कुमार राई,धनकुटा । धनकुटाको छथर गाउँपालिकाले आफ्नो पालिकाको दुर्गम क्षेत्र मानिएको वडा नं. ३ को सिंभुवा गाउँमा औधोगिकग्रामको निर्माणको काम शुरु छ ।

संघिय सरकारको एक स्थानिय तह एक औधोगिक ग्रामको नीति अनुसार उद्योग मन्त्रालयको बहुबर्षिय योजना अन्तर्गत गाउँपालिकाले काम शुरु गरेको हो ।
४८ रोपनी सरकारी जमिनमा निर्माणधिन ग्रामको आईतबार धनकुटाका संघिय सांसद राजेन्द्र कुमार राईले शिलान्यास गर्नुभएको छ ।
ग्रामको शिलान्यास गर्दै सांसद राईले उक्त औधोगिक ग्रामको स्थापनाले उक्त क्षेत्र तथा गाउँपालिकाको आर्थिक बिकासमा टेवा पुग्ने बताउनुभयो ।
चालु आर्थिक बर्ष २०७७/०७८ मा ९२ लाख बिनियोजित उक्त ग्राम निर्माणका लागि मोरङ जिल्लाको चिसाङ कन्ट्रक्सन एण्ड सप्लायर्सले ६३ लाख १२ हजार ३ सय ६५ रुपैंयाको ठेक्कामा काम शुरु गरेको हो ।
ग्राममा यस बर्ष २ वटा ३ कोठे भवन,३ सय मिटर वाल कम्पाउण्ड र १ सय ५० मिटर ग्राभेल सडक बन्ने गाउँपालिका अध्यक्ष शेर बहादुर लिम्बूले जानकारी दिनुभयो ।
अध्यक्ष लिम्बूले पछिपरेको क्षेत्र तथा गाउँबस्तीको बिकास गरेर जनसमुदायको जीवन स्तर उकास्न उक्त दुर्गम स्थानमा ग्राम निर्माण गर्न लागिएको जानकारी दिनुभयो ।
उहाले धनकुटा बजार हुंदै यस क्षेत्र सम्म करिव १ अर्वको लागतमा २३ किलोमिटर कालोपत्रे हुन लागेकोले पनि पछि परेको भनिएको यस क्षेत्रका आर्थिक र सामाजिक बिकासमा थप टेवा पुग्ने बताउनु भयो ।

कुल ३७ करोड २ लाख ८९ हजार ९ सय ५३ रुपैंया बराबरको डिपिआरमा निर्माण हुने उक्त ग्राममा ३३ वटा औधोगिक भवन लगाएत बिभिन्न भौतिक संरचना बन्ने गाउँपालिकाका ईन्जिनियर दिपेश पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य शिव आङला लिम्बू,गाउँपालिका उपाध्यक्ष भीमकला श्रेष्ठ,नेकपा छथर गाउँपालिका अध्यक्ष ईन्द्रसारु मगर,नेकपा छथर वडा नं. ३ का ईन्चार्ज बिष्णु बहादुर भुजेल,अध्यक्ष डिल्लीश्वर लिम्बू,छथर जोरपाटी गाउँपालिका वडा नं. ३ र ४ का अध्यक्षहरु ज्ञान बहादुर लिम्बु,टेकबहादुर घिसिङ,केदारनाथ स्मृति प्रतिष्ठानका अध्यक्ष लोकेन्द्र चापागाई,जोरपाटी प्रहरी ईन्चार्ज छवी भण्डारी लगाएतको उपस्थिति रहेको थियो ।


