धनकुटाको सिंधुवामा अस्पताल भवनको शिलान्यास
नारायण कुमार राई, धनकुटा ।छथर जोरपाटी गाउँपालिका सिंधुवाको हाटखोलमा ५ शैया बरावरको अस्पताल भवनको शिलान्यास गरिएको छ ।
सरकारले स्थानीय तहसम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सोमबार एकैसाथ ३९६ स्थानीय तहमा अस्पताल भवन बनाउने क्रममा सिंधुवामा पनि भवन शिलान्यास गरिएको हो ।
गाउँपालिकाले सोमबार एक भब्य कार्यक्रमको आयोजना गरेर संघिय सांसद राजेन्द्र कुमार राईबाट उक्त भवनको शिलान्यास गराएको छ ।
करिव ७ करोड लागतमा बहुबर्षिय आयोजना अन्तर्गत निर्माण हुन लागेको उक्त अस्पताल बनेपछि एम बि.बि.एस डाक्टरहरुले सेवा दिने गाउँपालिका अध्यक्ष शेर बहादुर लिम्बूले जानकारी दिनुभयो ।

१३ रोपनी ९ आनामा निर्माण हुन लागेको उक्त भवन निर्माणका लागि चालु आर्थिक बर्षका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७० लाख बिनियोजन गरेको छ ।
कार्यक्रममा गाउँपालिकाले अस्पतालका लागि जग्गा दान गर्नुहुने दाताहरुलाई दोसल्ला ओढाएर सम्मान गरेको थियो ।
सोमबार नै महालक्ष्मी नगरपालिकामा १० शैया,सहिदभूमि र चौविसे गाउँपालिकामा पनि ५–५ शैयाको अस्पतालको शिलान्यास गरिएको छ ।


