युमा धर्म लिम्बुवान भूगोलकै मौलिक धर्म हो: लिम्बुवानी नेता नेम्वाङ
झापा / लिम्बु समुदायमा धर्मको बहस भइरहेको बेला लिम्बुवानका पुराना नेता वीर नेम्वाङले युमा धर्म प्राचीन धर्म भएको आफ्नो धारणा अगाडि सारेका छन् । युमा साम्यो लिम्बुवान क्षेत्रमा उत्पन्न भएको मौलिक धर्म भएको भन्दै कुनै द्विविधा राख्न नहुने तर्क गरेका हुन् ।
पछिल्लो समय राष्ट्रिय जनगणनामा धर्मको महलमा कुन धर्म लेख्ने भन्ने रस्साकस्सी चलिरहेको बेला लिम्बुवान मुक्ति मोर्चा नेपालका अध्यक्ष नेम्वाङले मौनता तोड्दै युमा धर्म आदिवासी याक्थुङ(लिम्बु)को प्राचीन धर्म भएकोमा कुनै असहजता नहुने बताएका छन् । ‘युमा धर्म बाहिरी भूगोलबाट आएको धर्म होइन । यो लिम्बुवानमा उब्जिएको मौलिक धर्म हो,’ उनले भने, ‘मेरो पार्टी धर्मनिरपेक्षतावादी हो । तर, व्यक्तिगत रूपमा म युमा धर्मका पक्षपाती हूँ ।’ उनले आफूले २०४८ को जनगणनादेखि नै याक्थुङ(लिम्बु) जातिको धर्म युमा भन्दै प्रचारप्रसार गरेको कुरा खुलाए । उनले युमा धर्म चीनबाट आएको भन्ने कतिपय लेखकको भनाइमा सत्यता नभएको भन्दै आपत्ति समेत जनाए । ‘आजभन्दा ११०० वर्षअघि नै लिम्बुवानका उबाहाङ र माबोहाङ राजाले युमा धर्मलाई राज्य धर्म बनाएको इतिहास छ । सर्वोच्च ईश्वर तागेरानिङ्वाफुमाङकै अर्को रूप युमा हुन् । युमाको अवस्थिति लिम्बुवानमै भेटिन्छ,’ नेम्वाङले थपे । उनले युमा धर्मलाई याक्थुङ लिम्बु जातिबाहेकका समुदायले पनि ग्रहण गर्न सक्ने भएकोले मानवतावादी धर्म भएको उल्लेख गरे ।
युमा साम्यो महासभा झापाले मेचीनगरमा आयोजना गरेको धार्मिक तथा साँस्कृतिक गोष्ठीमा बोल्दै लिम्बुवान आन्दोलनका अर्का नेता सञ्जुहाङ पालुङ्वाले धर्मको बहसको टुङ्गो मुन्धुम र इतिहासको अध्ययनबाट पूरा हुने बताए । सङ्घीय लिम्बुवान पार्टीका अध्यक्ष पालुङ्वाले याक्थुङ मुन्धुमको गम्भीर अध्ययन नगर्नाले समस्या आएको बताए । उनले लिम्बु समुदायको बारेमा लेखिएको सबैभन्दा पुरानो दस्तावेज हज्सन पाण्डुलिपिमा समेत लिम्बुलाई किरात नभनेर याक्थुङ मात्रै भनेर सम्बोधन गरिएको प्रष्ट पारे । ‘हज्सन पाण्डुलिपिदेखि लिएर जेपी सिंहको पुस्तक र महागुरु फाल्गुनन्दको मुचुल्कासम्म अध्ययन गर्नेले नेपालको पूर्वी भूगोलमा याक्थुङ मात्रै भेट्छ । याक्थुङ कालान्तरमा लिम्बु जातिका रूपमा स्थापित छ,’ उनले भने । नेता पालुङ्वाले विज्ञानलाई नै चुनौती दिने गरी मुन्धुममा मानव उत्पत्तिको प्रसङ्ग रहेको भन्दै समुदायको संस्कृतिसँगै इतिहासको जरा मुन्धुम भएकोमा जोड दिए । उनले मौखिक परम्पराका कारण मन्धुमको व्याख्या गर्दा पात्र र प्रसङ्गमा थोर बहुत फरकपन आएपनि मूल घटना र स्थानमा एकरूपता हुनु नै यसको सौन्दर्य भएको बताए ।
संवादमा बोल्दै युमा साम्यो महासभाका केन्द्रीय अध्यक्ष देवेन्द्र वनेमले ०७८ को राष्ट्रिय जनगणनामा जातिको महलमा याक्थुङ लिम्बु, मातृभाषा एवम् पुख्र्यौली भाषामा याक्थुङ र धर्ममा युमा धर्म लेख्न आग्रह गरे । कार्यक्रममा महासचिव डा. रमेश इजम, केन्द्रीय सदस्य चित्र वनेम, सल्लाहकार आरबी पालुङ्वा, कियाचु झापाका खबिन थेबे, प्राध्यापक भीम इजम लगायतले मन्तव्य राखेका थिए । महासभा झापाका अध्यक्ष टेक बहादुर योङहाङको सभापतित्वमा भएको संवाद सचिव राम योङहाङले गरेका थिए ।
मोरङमा युमा साम्योवादीहरू सङ्गठित
२०७८ को राष्ट्रिय जनगणनालाई लक्षित गरेर आफ्नो गतिविधि तीव्र बनाएको युमा साम्यो महासभाले मोरङको कानेपोखरी गाउँपालिकामा सङ्गठन विस्तार गरेको छ । प्रचारात्मक अभियानअन्तर्गत महासभाले जिल्लाको उत्तरी भेगमा शाखा निर्माण गरेको हो ।
महासभाका केन्द्रीय उपाध्यक्ष प्राध्यापक हर्क इजमको प्रमुख आतिथ्यमा तान्छोलिङ समाज केन्द्रको भवनमा भएको भेलाले जितेन्द्र लाबुङको अध्यक्षतामा १३ सदस्यीय गाउँपालिका समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा यामबहादुर खापुङ, सचिवमा दीपक केदेम, सहसचिवमा सूर्यबहादुृर फोम्वो र कोषाध्यक्षमा शुक्ररानी आङबोहाङ चयन भएका छन् । त्यस्तै, सदस्यहरूमा ज्ञानबहादुर फोम्वो, सरिता मुसाहाङ साम्याङ्खाम, नरेन्द्र केदेम, टिकाराम नाल्वो, सुरेश यक्वा लिम्बु, डम्बरबहादुर सङ्यक, अम्मरहाङ साँवा र डिकबहादुर पङ्धाक रहेका छ्न ।
त्यसैगरी, भेलाले सात सदस्यीय सल्लाहकार समिति पनि निर्माण गरेको छ । सल्लाहकारहरूमा फेदाङ्मा रामबहादुर साम्याङ्खाम, फेदाङ्मा अम्बर मुसाहाङ, फेदाङ्मा सेरबहादुर मादेम्वा, तुम्याङहाङहरू हस्तबहादुर वनेम, दिलबहादुर फागो, शुक्रराज थोप्रा र मिनबहादुर योङहाङ रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि इजमले याक्थुङ(लिम्बु) समुदायको मौलिक पहिचान संरक्षण गर्न आगामी जनगणनामा धर्मको महलमा युमा धर्म उल्लेख गर्न महासभाले आह्वान गरिरहेको बताए । भेला यामबहादुर खापुङको अध्यक्षतामा सम्पन्न भएको अभियन्ता बुद्धराज कुरुम्वाङले जानकारी दिए । यसैगरी, लेटाङको गुवाबारीमा सम्पन्न भेलाले पनि १७ सदस्यीय युमा साम्यो महासभा लेटान नगर तदर्थ समिति गठन गरेको केन्द्रीय सचिव भीमसेन लिङ्दमले जनाए ।


