सिन्धुलीमा अटो दुर्घटना : गर्भवती महिलासहित ७ जना घाइते, ५ जनाको अवस्था गम्भीर
सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ गुर्जीस्थित मदन भण्डारी लोकमार्गमा अटो दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
आज दिउंसो करिब १ः३० बजे झनझनेबाट मकवानपुरको झुरझुरेतर्फ जाँदै गरेको लु.प्र.०१-००१ स ८१४० नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब १५ देखि २० मिटर तल खेतमा खसेर दुर्घटना भएको हो।
दुर्घटनामा अटो चालक मकवानपुरको बागमती गाउँपालिका–१ निवासी ४० वर्षीय गंगा घिसिङ घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको छ।
त्यस्तै, नामथर र ठेगाना नखुलेकी अन्दाजी ३२/३३ वर्षीया गर्भवती महिला, बागमती गाउँपालिका–१ निवासी १९ वर्षीया कान्छीमाया पहरी, उनकी ३ वर्षीया छोरी समिक्षा पहरी, सोही स्थानका ९ वर्षीय प्रवास पहरी र ७ वर्षीया स्वस्तिका पहरी तथा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ ककरे निवासी ६० वर्षीया पातलीमाया भोलन गम्भीर घाइते भएका छन्।
घाइतेमध्ये ९ वर्षीय प्रवास पहरीको निधार र अनुहारमा चोट लागेको तथा बोल्न नसक्ने अवस्था रहेको जनाइएको छ।
दुर्घटनामा घाइते भएका सबै सातै जनालाई उपचारका लागि मकवानपुरतर्फ पठाइएको छ।
घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी हरिहरपुरगढीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनामा परेको अटो घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


