पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै पाँचथरको मुवा झरना

रवीन्द्र काफ्ले,पाँचथर/पाँचथरको फालेलुङ गाउँपालिका–५ र ६ को सीमामा अवस्थित मुवा झरना पछिल्लो समयमा पर्यटकीय गन्तव्य बनेको छ।

यसअघि गुमनाम रहेको यो झरनालाई स्थानीय दीपज्योति युवा क्लबले प्रचारमा ल्याएपछि पछिल्लो समय यहाँ आन्तरिक पर्यटकको भीड लाग्न थालेको हो।

निकै दुर्गम स्थानमा रहेको यो झरनामाथि निर्माण गरिएको झोलुंगे पुलबाट झरनाको दृश्यावलोकन गर्न निकै आनन्द आउँछ। त्यसैले मुवा झरनामा रमाइलो गर्न आउने पर्यटकको सङ्ख्यासमेत क्रमशः बढ्दै गएको छ।

जिल्लामा जैविक विविधता तथा वातावरण संरक्षणका क्षेत्रमा सक्रिय दीपज्योति युवा क्लबले विभिन्न प्रचार सामग्रीमा मुवा झरनाको तस्वीर राखेर प्रचार गरेपछि आन्तरिक पर्यटक यहाँ पुग्न थालेका हुन्। सामाजिक सञ्जालमा मुवा झरना तथा यहाँ खिचिएका तस्वीर राख्ने क्रमसँगै झरनाले चर्चा पाएको झरना संरक्षण एवं सम्वद्र्धन समितिका अध्यक्ष रविन जबेगूले बताए।

पाँचथरको फिदिमबाट फिदिम–फालोट सडक हुँदै फालेलुङ–६ ओगेम्बा पुगेपछि करिब १५ मिनेट कच्ची शाखा सडकको यात्रा र आधा घण्टा पैदल यात्रापछि मुवा झरना पुग्न सकिन्छ। दुई ठूला पाखाको बीचमा ठूला चट्टानको बीचबाट झरेको झरना निकै आकर्षक देखिन्छ। यहाँको मुवा खोला नै झरनाको रुपमा अग्लो पहराबाट झण्डै १०० मिटर तल झरेकाले निकै सुन्दर देखिएको हो। झरनामा बाह्रै महिना प्रशस्तै पानी हुने हुँदा यो झरना जिल्लाको महत्वपूर्ण पर्यटकीय गन्तव्य वननसक्ने स्थानीयवासीको अपेक्षा छ।

झरनाको मुनि रमाइलो गर्न तथा तस्वीर लिन प्रशस्त ठाउँ रहेको तथा झरनाको माथिबाट झोलुंगे हालिएकाले यहाँ पर्यटकलाई रमाइलो गर्न सहज भएको क्लबका कार्यकारी निर्देशक सुनिल बान्तवाको भनाइ छ।

‘झरनामा थप पूर्वाधार निर्माणका लागि सरकारी लगानी अत्यावश्यक रहेको छ”, उहाँले भन्नुभयो, “झरना हेर्न केही महिना अघिदेखि आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ । झरनाको आसपासमा पूर्वाधारको विकास गर्न सके नेपालकै अब्बल गन्तव्य बन्नसक्छ ।”

राई भासामा मुवाको अर्थ ‘निरन्तर बगिरहने आँशु’ भन्ने हुन्छ। आँशुजस्तै निरन्तर पानी झरिरहने भएकाले झरनाको नाम ‘मुवा’ राखिएको फालेलुङ–६ की वडाध्यक्ष सुजता वान्तवाको भनाइ छ। पछिल्लो समयमा झरना हेर्न दैनिक दर्जनौको संख्यामा पर्यटक आउने गरेको स्थानीयवासीले जनाएको छ। ‘पहिले यो ठाँउ सुनसान थियो’, फालेलुङ–६ का प्रदीप राईले भने, ‘झरना हेर्न अहिले मान्छेको भीड लाग्ने गरेको छ।’

झरना चर्चामा आउन थालेपछि श्रीजंगा ग्रामीण विकास केन्द्रबाट झोलुंगे पुल निर्माण भएको थियो। पर्यटकको आवागमन बढ्न थालेपछि उनीहरुका लागि यस क्षेत्रमा दुई वटा सार्वजनिक शौचालय, दुई वटा विश्रामालय र खानेपानी धारा निर्माण गरिएको छ। हालसम्म यहाँ फालेलुङ गाउँपालिकाबाट लगानी भइरहेकामा आगामी दिन प्रदेश र संघीय सरकारबाट पनि लगानी आवश्यक रहेको समितिका अध्यक्ष जबेगूले बताए। झरना झर्ने ठाउँमै रहेका केही ठूला चट्टान हटाउने, सहज सडक पहुँच पु¥याउने तथा भ्यू–टावर, विमिङ पुलजस्ता संरचना निर्माण गर्नसके पर्यटक भित्र्याउन झनै सहज हुने उनको भनाइ छ।

गाउँपालिकाले वडा नं ५ बाट झरनासम्म पुग्ने पदमार्ग निर्माण थालेको छ। यसै वर्ष झरनासम्म मोटरबाटो पु¥याउने गाउँपालिकाले लक्ष्य लिएको छ। फालेलुङ–६ का वडाध्यक्ष सुजाता बान्तवाले स्थानीय तहको सक्रियताले मुवा झरना पर्यटकीय गन्तव्यको रुपमा विकास हुन लागेको बताए। ‘दीपज्योति युवा क्लबसँग सहकार्य गरी वडा र गाउँपालिकाले गरेको प्रचारले नै यो झरना पर्यटकीय गन्तव्य बन्न लागेको हो’, उनले भने, ‘यहाँसम्म सडक ल्याउने रु १२ लाख लगानी गरिसकेका छौँ।’

यस वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत फालेलुङ–६ तर्फबाट पदमार्ग निर्माण गर्ने योजना वनाइएको वडाध्यक्ष बान्तवाले बताए। बजेटको सीमितताले झरनाको प्रवद्र्धनमा उचित लगानी गर्न नसकिएको उनको भनाइ छ।

जिल्लाका पर्यटकीय गन्तव्यको प्रचार र प्रवद्र्धनमा सक्रिय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश कमिटीका सदस्य हर्कबहादुर नेम्वाङले मुवा झरनाको प्रचार र पर्यटकीय पूर्वाधार विकास अतिआवश्यक रहेको बताए। ‘फालेलुङ पर्यटकीय दृष्टिले निकै धनी छ। त्यसमा पनि गाउँपालिकाको मध्यभागमा रहेको यस झरनाले यहाँ थप पूर्वाधार आवश्यक छ भन्ने देखिएको छ’, उनले भने, ‘यसका लागि स्थानीय तहको प्रभावकारी समन्वय र सबै तहका सरकारको लगानी आवश्यक छ।’

दैनिक आन्तरिक पर्यटक भित्रने क्रमले दुर्गममा रहे पनि मुवा झरना पर्यटकीय गन्तव्यको रुपमा विकास हुने सङ्केत मिलेको नेम्वाङको भनाइ छ। अहिले यहाँ दैनिक ५० देखि १०० जनासम्म आन्तरिक पर्यटक पुग्ने गरेका छन्। झरना आफैँमा मनमोहक रहेको र केही पूर्वाधार थप गर्न सके सुनमा सुगन्ध थपिएजस्तै हुने स्थानीयवासीको भनाइ छ।

मुवा झरना नजिकै तीनछाँगे झरना लगायत अन्य झरना पनि भएकाले यो ठाँउ झरनामा रमाउने पर्यटकका लागि अब्बल गन्तव्य हो। देशको अन्य स्थानमा भएका झरनाभन्दा मुवा झरना निकै आकर्षक भएकाले संघ, प्रदेश र स्थानीय सरकारले यसको प्रबद्र्धनका लागि चासो दिनुपर्ने झरना हेर्न आएका बिजयहाङ आङ्देम्बेले बताए। रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।