विद्युत कटौटी बढेको जनगुनासो पछि प्राधिकरणले जारी गर्यो विज्ञप्ति
काठमाण्डौ/ पछिल्लो केही दिनमा विद्युत कटौती बढिरहेको छ । यो कुरालाई लिएर सर्वसाधारणले गुनासो गर्न थालेका छन् । सर्वसाधारणको गुनासो आएसँगै नेपाल विद्युत प्राधिकरणले विज्ञप्ति निकालेर त्यसको खण्डन गरेको छ ।
प्रधिकरणले निकालेको विज्ञप्तिमा भारत्वहन क्षमता भन्दा बढी विद्युत प्रवाह हुँदा केही समय विद्युत प्रसारण तथा आपूर्तिमा भएको अवरोध लोडसेडिङ होइन । तथापी त्यस्तो अवरोध न्यूनीकरण र निराकरण गर्न प्राधिकरण सक्षम र प्रयासरत रहेको उल्लेख गरिएको छ ।
प्राधिकरणले कहीं कतै प्राविधिक कारणले विद्युत कटौती हुनुलाई लोडसेडिङ भन्न नमिल्ने भन्दै विज्ञप्ति मार्फत् आफ्नो बचाउ गरेको हो । गएको पुस १३ र १४ गते राष्ट्रिय विद्युत प्रणालीमा केही समय आएको अवरोध प्राविधिक कारणले आएको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
त्यतिबेला आएको समस्या निराकरण गरिसकिएको पनि प्राधिकरणले जनाएको छ ।


