पाकेको सुन्तला कुहिएर झरेपछि कृषक मर्कामा

पाँचथर । पाकेर बिक्री गर्ने बेलामा सुन्तला कुहिएर झर्न थालेपछि पाँचथरको फिदिम नगरपालिका–७ रानीटारका कृषक मर्कामा परेका छन् । सुन्तला टिप्ने समयमा धमाधम झर्न थालेको र झरेको सुन्तला कुहिएको पाइएपछि कृषक चिन्तित बनेका हुन् ।

सुन्तलाको राम्रो उत्पादन हुने फिदिम–७ रानीटारमा पाकेको सुन्तलाभित्र किरा भेटिने गरेको छ । किराका कारण सुन्तला कुहिएर झरेपछि यहाँका दर्जनौँ कृषक परिवार मर्कामा परेका छन् । रानीटारको नाङ्लपा, हाम्फाबुङ, चिउरीबोटे, चकरुम्बा, माक्लुम्बालगायत टोलमा करिब ४०० रोपनी क्षेत्रफलमा लगाइएको सुन्तलामा किरा भेटिएको हो ।

हाम्फाबुङका कृषक देउबहादुर थेबेका अनुसार सुन्तला टिप्नै नपाई झर्न थालेको छ । “पोहोर साल झण्डै चार हजार किलो बेचेको थिएँ”, थेबेले भने, “यस वर्ष टिप्नै नपाई धमाधम सुन्तला झरिरहेको छ । झरेको सुन्तला कुहिएको पाएका छौँ ।” मुख्य आम्दानीको स्रोतको रूपमा रहेको सुन्तला कुहिएर जाँदा वर्षभरिको आम्दानी समाप्त भएको अर्का कृषक जयबहादुर नेम्वाङले वताए ।

कृषकको गुनासोपछि फिदिम नगरपालिकाले प्राविधिक पठाई सुन्तला कुहिएर झर्ने समस्याको अनुगमन गराएको छ । फिदिम नगरपालिकाको कृषि शाखाका प्रमुख यामबहादुर सङ्ग्रौलाका अनुसार सुन्तलामा ‘फ्रुटफ्लाइ’ नामको किराको सङ्क्रमण देखिएको छ । झिङ्गाजस्तो यो किराले पाकेको फल कुहाउने गर्छ । “पोथी किराले फल छेडेर भित्र पसी फुल पार्ने काम गर्छ । फुल लार्भा भएपछि सुन्तलालगायत फल कुहाएर क्षति गर्छ”, सङ्ग्रौलाले भने । फल नलाग्दै फेरेमेन ट्राप र मालाथिन नामक विषादी मिलाएर छर्केको अवस्थामा यो किराको समस्या नहुने उहाँको भनाइ छ । फलमा लागेको किरा भने नियन्त्रण गर्न नसकिने सङ्ग्रौलाले बताए ।

यस वर्ष अत्यधिक वर्षाका कारण सुन्तलाको फल नै कम लागेको थियो । पाकेको सुन्तला पनि विगतका वर्षको जस्तो स्वादिष्ट छैन । अधिक वर्षाकै कारण विगतका वर्षको जस्तो स्वाद नभएको जिल्लाको मिक्लाजुङ गाउँपालिका–५ का कृषक रुपा लावतीको भनाइ छ । यस वर्ष चाँडै चिसो शुरु हुँदा सुन्तलामा स्वाद नभएको कृषक बताए । जिल्लाका आठवटै स्थानीय तहमा सुन्तला उत्पादन हुने गरेको छ । जिल्लाका कुरुम्बा, आङ्सराङ, रानीगाउँ, फाक्तेप, फिदिम, रानीटारलगायत स्थानमा बढी सुन्तला उत्पादन हुने गर्दछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।