अझै पाएनन् उखु किसानले बाँकी रकम

सर्लाही । सर्लाहीका उखु उत्पादक किसानले अझै उखुको बाँकी बक्यौता पाउन सकेका छैनन् । सरकारले चिनी उद्योगीबाट उखु किसानलाई तिर्न बाँकी बक्यौता भुक्तानी दिलाउने भन्दै पुस १३ गते गरेको सम्झौतापछि पनि किसानले भुक्तानी पाउन नसकेका हुन् ।

किसानले काठमाडौँमा गएर यस वर्ष पनि पुसको जाडोमा माइतीघर मण्डला अगाडि आन्दोलन गरेका थिए । सरकारले किसानसँग २१ दिनभित्रमा बक्यौता रकम भुक्तानी दिलाइदिने गरी सम्झौता भएको थियो । तर किसानले अहिलेसम्म पनि पूरै भुक्तानी पाउन सकेका छैनन् ।

जिल्लामा सञ्चालित तीन चिनी मिलमध्ये दुईले गत वर्षसम्मको सम्पूर्ण रकम भुक्तानी गरिसकेका छन् । तर धनकौलमा रहेको अन्नपूर्ण सुगर मिलले भने किसानलाई तिर्न बाँकी करिब रु १७ करोडमध्ये ११ करोड ४७ लाख रकम किसानको खातामा हालिसकेको बताइएको छ । उद्योगीको खातामा करिब रु दुई करोड रहेको भए पनि सञ्चालक सम्पर्कमा नरहेकाले किसानको खातामा मात्र हाल्न मिल्ने गरी राष्ट्र बैंकमार्फत सर्कुलर जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । किसानलाई भुक्तानी गरिएको र बैंकमा जम्मा रहेको रकम दुवैलाई हेर्दा किसानले अझै पनि पूरा रकम पाउन सक्ने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।

उद्योगीले उखु खरिद गरेवापत किसानलाई अझै पनि करिब रु तीन करोड ५३ लाख तिर्न बाँकी रहेको देखिएको छ । यसरी सरकारले किसानलाई प्रत्येकपटक आन्दोलन गर्दा उद्योगीबाट रकम उपलब्ध गराउने आश्वासन दिने गरेको भए पनि सम्झौताअनुसार आफूहरुले भुक्तानी नपाएको नेपाल उखु उत्पादक महासङ्घ सर्लाहीका अध्यक्ष कपिलमुनी मैनालीले बताए । सरकार र उखु उत्पादक किसानबीच पटक–पटक सम्झौता हुने तर उक्त सम्झौता कार्यान्वयन नहुँदा किसानमा निराशा छाउनुका साथै सरकारप्रतिको विश्वसनीयता कम हुँदै गएको नेपाल उखु उत्पादक महासङ्घ सर्लाहीका अध्यक्ष मैनालीले बताए ।

उखु बिक्रीवापतको भुक्तानी दिलाइदिन माग गर्दै प्रत्येक वर्ष किसान काठमाडौँको माइतीघरमा गएर गर्मी जाडो केही नभनी आन्दोलन गर्ने गरेका छन् । किसानलाई भुक्तानीका लागि प्रत्येक वर्ष सास्ती खेपाउनुभन्दा सरकार आफैँ जवाफदेही भएर बाँकी बक्यौता भुक्तानीमा सहजीकरण गरिदिनुपर्ने अध्यक्ष मैनालीको भनाइ छ । त्यसैगरी स्थानीय प्रहरी प्रशासनको प्रयासमा धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योगले करिब रु आठ करोड रकम किसानको खातामा हालिसकेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए ।

हरिवन नगरपालिका–११ को इन्दुशङ्कर चिनी उद्योगले चालु सिजनमै खरिद गरेको उखुको भुक्तानी दुई चरणमा गरी करिब रु २० करोड भुक्तानी गरिसकेको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिए । करिब सात लाख २० हजार क्विन्टल उखु क्रसिङ गरिसकेको उद्योगले भुक्तानीलाई पनि निरन्तरता दिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।