इजरायलमा केयर गिभरमा लैजाने बाटो खुला

काठमाडौँ, ८ माघ । नेपाल र इजरायलबीच गत असोजमा भएको ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ कार्यान्वयन गर्न दुई देशका अधिकारीबीच ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ हस्ताक्षर भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय आज आयोजित कार्यक्रममा सरकारका तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल र इजरायलका तर्फबाट नेपालका लागि इजरायली राजदूत खनान गोडेरले हस्ताक्षर प्रोटोकलमा हस्ताक्षर गर्नुभयो ।

प्रोटोकलमा हस्ताक्षर भएसँगै इजरायलको विशिष्ट श्रम बजार नेपाली युवाका लागि खुला भएको । सम्झौता अनुसार ५०० नेपाली युवा केयरगिभर क्षेत्रमा रोजगारीका लागि इजरायल जानेछन् । ती युवाले इजरायली श्रम कानूनअनुसार सेवा सुविधा पाउनेछन् ।

इजरायली रोजगारमा निजी क्षेत्रलाई सहभागी गराइएको छैन । दुई देशबीचको सरकार–सरकार संयन्त्र (जिटुजी) बाट नेपाली इजरायल जानेछन् । यसअघि विभिन्न चरणमा छलफल भई सहमतिसमेत भइसकेकाले पहिलो क्षेत्रका रुपमा इजरायलको नर्सिङ क्षेत्र (अस्पताल, नर्सिङ होम, दिवा स्याहार केन्द्रलगायत) मा नेपालीले रोजगारीको अवसर प्राप्त गर्ने मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगारीका लागि इजरायललाई आकर्षक गन्तव्यका रूपमा लिइन्छ । आम्दानी, सामाजिक सुरक्षा तथा रोजगारीजन्य श्रमिक स्वास्थ्य सुरक्षाका दृष्टिले इजरायल विश्वकै उत्कृष्ट मुलुकमा पर्दछ । केही वर्षदेखि नेपाली कामदार लैजान बन्द गरेको इजरायलले पछिल्ला समय नेपाली श्रमिक लैजाने चाहना गरेको थियो । इजरायलले कृषि तथा केयर गिभरको क्षेत्रमा विदेशी कामदार लिँदै आएको छ । इजरायलमा केयर गिभरको सङ्ख्या बढी छ र नेपालीहरू पनि धेरै जसो केयर गिभरका रूपमै नै त्यहाँ जाने गरेको छन् ।

इजरायलमा करिब दुई हजार ५०० को सङ्ख्यामा नेपाली रहेका तेलअभिवस्थित नेपाली दूतावासले जनाएको छ । इजरायलको श्रम कानून निकै नै श्रमिकमैत्री भएकाले तुलनात्मक हिसाबले अन्य देशभन्दा कम समस्या आउने गरेको छ । सरकारी माध्यमबाट नेपाली श्रमिक इजरायल पठाउँदा पारदर्शी हुने गरी कार्यविधि तयार गरिएको श्रम मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार इजरायलमा दक्ष र सीपयुक्त श्रमिक सरकारले पठाउने भएकाले यसलाई सकेसम्म व्यवस्थित र पारदर्शी बनाउने गरी कार्यविधि बनाएको छ । गत असोज १४ गते नेपाल र इजरायलबीच ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’मा हस्ताक्षर भएको थियो ।

‘द्विपक्षीय सम्बन्धमा नयाँ आयाम’

कार्यक्रममा श्रममन्त्री गौरीशङ्कर चौधरीले प्रोटोकलमा हस्ताक्षर भएसँगै नेपाल र इजरायलबीचको द्विपक्षीय सम्बन्धमा नयाँ आयाम थपिएको बताउनुभयो । उहाँले दुई देशबीच कूटनीतिक सम्बन्धका साथै श्रम सम्बन्ध सौहार्द हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले केयर गिभर क्षेत्रमात्र नभई अन्य क्षेत्रमा पनि नेपाली युवालाई रोजगारीका अवसर प्रदान गर्न आग्रह गर्नुभयो ।

विभागका महानिर्देशक दहालले दुई देशको सरकारी तहबाट नै श्रमिक आदानप्रदान गर्ने गरी गरिएको सम्झौता कार्यान्वयनका लागि विभागले अनलाइनमार्फत आवेदन दिने प्रक्रियालाई पारदर्शीरूपमा अवलम्बन गरिने बताउनुभयो । सम्झौता कार्यान्वयनका लागि विभागले आवश्यक अन्य तयारीहरु पनि शुरु गर्ने जानकारी दिँदै उहाँले सहजीकरणका लागि विभागमा डेडिकेटेड टोली खटाइने बताउनुभयो ।

इजरायलका लागि नेपाली राजदूत डा अन्जान शाक्यले आफू राजदूतका रूपमा इजरायल पुगेदेखि नै त्यहाँको श्रम बजार नेपालीका लागि खुला गर्न लागिपरेको र आज सफलता मिलेको बताउनुभयो । विदेशी श्रमिकका लागि इजरायल आकर्षक गन्तव्यका रुपमा रहेको उल्लेख गर्र्दै इजरायलमा सम्मानका साथ नेपालीले काम गर्न पाउने बताउनुभयो । उहाँले पटकपटकको छलफलपछि इजरायलमा नेपालीलाई केयर गिभरका रूपमा रोजगारीमा लैजान सक्ने वातावरण बनेको जानकारी दिनुभयो ।

नेपालका लागि इजरायली राजदूत गोडेरले नेपाली युवायुवतीले इजरायली नागरिकसरह सेवासुविधा तथा पारिश्रमिक पाउने बताउनुभएको थियो । लामो समयदेखि रोकिएको नेपाली श्रमिक इजरायल जाने प्रक्रियाले निरन्तरता पाउने लागेको र कोभिड–१९ को महामारीका बीचमा पनि दुवै देशका सरकारी अधिकारीले लगागतरको प्रयासबाट मात्रै प्रोटोकलमा हस्ताक्षर गर्ने अवस्थामा पुगिएको बताउनुभयो ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।