इस्वोको स्मृतिमा शालिक बनाउँदै यूकेका गोर्खा अभियन्ताहरू
लन्डन (यूके) । दुई महिनाअघि निधन भएका सामाजिक अगुवा गजेन्द्र इस्वोको स्मृतिमा बेलायतमा रहेका गोर्खाली अभियन्ताहरूले शालिक बनाउने भएका छन् । इस्वोले नै नेतृत्व गरेर सुरु भएको धरानको गोर्खा स्मृति पार्कमा अर्धकदको शालिक बन्ने भएको हो ।
भूतपूर्व ब्रिटिस सैनिक समेत रहेका स्वर्गीय इस्वोको योगदानलाई कदर गर्न धरानको मछामारा डाँडामा अवस्थित गोर्खा स्मृति पार्कमा अर्धकदको प्रतिमा बनाउने तयारी भइरहेको अभियन्ता देव हुक्पा चोङवाङले बताए । यसका लागि यूके र हङकङमा आर्थिक सङ्कलनको कार्य सञ्चालन भइरहेको उनले जनाए । ‘इस्वोले सामाजिक, साँस्कृतिक क्षेत्र र खासगरी भूूपू सैनिकहरूको न्याय र समानताको पक्षमा पु¥याएको योगदानको कदर गर्न शुभेच्छुकहरू मिलेर शालिक बनाउन लागेका हौँ,’ हुक्पा चोङवाङले भने । १३ करोड बढीको लागतमा निर्माण भइरहेको स्मृति पार्कको निर्माण समितिमा रहेर इस्वोले अगुवाइ गरेका थिए । यूकेबाट मात्र करिब ६२ लाख रूपैयाँ बढी सहयोग जुटेको ब्रिटिस गोरखा स्मृति पार्क आर्थिक सङ्कलन समिति यूकेका कोषाध्यक्ष समेत रहेका हुक्पा चोङवाङले उल्लेख गरे ।
यसैगरी, समितिका उपाध्यक्ष सुमनचन्द्र राईले योजनाका लागि करिब पौने नौ लाख रूपैयाँ सङ्कलन भइसकेको बताए । उनले सहयोग सङ्कलन जनवरी महिनाभर रहने जनाए । समितिको योजनाप्रति आभार प्रकट गर्दै नेपालमा रहेका स्व. इस्वोका कान्छा भाइ भूमि इस्वोले शालिक निर्माणको कामले आफ्नो दाजुको सामाजिक योगदानको कदर गरेको प्रतिक्रिया दिए । ‘हाम्रो सम्पूर्ण इस्वो परिवार कृतज्ञ छ । गोरखा स्मृति पार्क गजेन्द्र दाजुका लागि घरभन्दा प्यारो ठाउँ थियो,’ उनले जोडे, ‘दिन रात पुगिरहने ठाउँमै शालिक बनिनु झन् खुसीको कुरा हो ।’
शालिक निर्माणको कार्यले इस्वोलाई शुभेच्छुक र समर्थकहरूको मनमा सदा स्थापित गर्ने समितिका संयोजक सिरी साम्यूले प्रतिक्रिया दिए । नेफिन यूकेका पूर्व अध्यक्ष समेत रहेका उनले इस्वोको निधनले गोरखा सैनिक परिवार र आम समुदायका लागि ठूलो क्षति रहेको बताए । ‘इस्वो सामाजिक क्षेत्रमा सक्रिय थिए । भूपू सैनिकहरूको समानताको आन्दोलनमा हिँडे । पहिचानको राजनीतिमा लागे । समुदायलाई उकास्न आर्थिक परियोजनाहरू पनि सञ्चालन गरे,’ साम्यूले स्मरण गरे । शालिक निर्माणका लागि भने अन्य प्राविधिक कुराहरू भने धरानमा रहेका अभियन्ताहरू र परिवारसँग सल्लाह गरेर टुङ्गो लगाउने बताए ।
तेह्रथुमको आठराई खाम्लालुङको र्वाइफुङमा ०१४ सालमा जन्मेका इस्वोले करिब १७ वर्ष ब्रिटिस सेनामा सेवा गरे । जागिरबाट अवकाश लिएपछि भने अधिकांश समय सामाजिक, राजनीतिक, सामुदायिक कामहरूमा समय खर्चे । उनी गत साल जनता समाजवादी पार्टीबाट धरान उपमहानगरपालिकामा भएको उपनिर्वाचनमा मेयर पदका उम्मेदवार पनि थिए । उनले ब्रिटिस भूपू सैनिक सङ्घ(बिगेसो), किरात याक्थुङ चुम्लुङ, गोरखा स्मृति पार्क समिति, गोर्खा बचत तथा ऋण सहकारी संस्था, गोर्खा कम्प्लेक्स, नागरिक समाज, आदिवासी जनजाति संयुक्त सङ्घर्ष समिति लगायत डेढ दर्जन बढी संघसंस्थाहरूमा रहेर काम गरेका थिए । क्यान्सर रोगसँग सङ्घर्ष गरेर पुनः सामाजिक गतिविधिमा फर्किएका इस्वोको गत नोभेम्बर ३ मा कोरोना सङ्क्रमणका कारण निधन भएको थियो ।– अमित थेवे

