स्तरवृद्धि भएको १० वर्ष बित्दासमेत बागलुङ एक माविमा छैन दरबन्दी

बागलुङ । माध्यमिक तहमा स्तरवृद्धि भएको १० वर्ष बित्दासमेत यहाँको एक विद्यालय शिक्षक दरबन्दीविहीन अवस्थामा छ। जैमिनी नगरपालिका–९ पैँयूथन्थापस्थित बिजुवा माध्यमिक विद्यालयमा मावि तहको दरबन्दी छैन।

कक्षा १० सम्म पढाइ हुने सो विद्यालयको आधारभूत तहमा छ दरबन्दी र एक राहत शिक्षक छन्। बाँकी छ शिक्षक निजी स्रोतका छन्। दरबन्दी अभावमा विद्यालयले अतिरिक्त आर्थिक भार बोक्नुपरेको छ । शिक्षकलाई तलब खुवाउनै धौधौको स्थिति छ।

निजी स्रोतबाट राखिएका शिक्षक टिकाउन गाह्रो भइरहेको प्रधानाध्यापक सतीदेवी थापाले बताइन्। “न्यून तलब सुविधा दिएर राख्नुपर्ने अवस्था छ, अन्यत्र राम्रो अवसर आउँदासाथ शिक्षकहरु जानुहुन्छ”, उनले भनिन्, “हामीले रोकेर राख्न पनि मिलेन ।”

अहिलेसम्म २०/२२ शिक्षकले विद्यालय छाडेको प्रअ थापाले सुनाइन्। “दरबन्दी नहुँदा एकदमै समस्या छ, स्थानीय स्रोत र अभिभावकबाट चन्दा सहयोग जुटाएर खर्च धानेका छौँ”, उनले भनिन्। स्थायी दरबन्दीमा योग्य शिक्षक नहुँदा पढाइको गुणस्तरमा भनेजस्तो सुधार ल्याउन नसकिएको विद्यालयले जनाएको छ। आधारभूत तहको दरबन्दीमा रहेका शिक्षकले मावि तहलाई समेत हेर्नुपर्ने हुँदा तल्लो कक्षामा पढ्ने बालबालिकाको पढाइसमेत प्रभावित हुने गरेको छ।

“विद्यार्थी सङ्ख्या पनि राम्रो छ, भौतिक पूर्वाधार पनि छ, दरबन्दी नपाएका कारण हामी समस्यामा पर्यौँ”, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष हरि शर्मा आचार्यले भने। स्थानीयवासीको ठूलो दुःख, कष्ट र मेहनत विद्यालयमा परेको उनको भनाइ छ। विद्यालयको भौतिक र शैक्षिक सुधारका योजनामा स्थानीयवासीले स्वतःस्फूर्त सहयोग गर्दै आएका छन्। दरबन्दी व्यवस्थापनका लागि नगरपालिकाको शिक्षा शाखालगायतका निकायमा धेरैपटक माग गरे पनि अहिलेसम्म सुनुवाइ नभएको प्रअ थापाको गुनासो छ।

शून्य दरबन्दी भएका विद्यालयले पाउने गरेको शिक्षण सहयोग अनुदानसमेत गत वर्षदेखि रोकिएपछि विद्यालय थप मारमा छ। उक्त अनुदानबाट शिक्षकको तलब खर्चमा धेरथोर भरथेग हुँदै आएको थियो। शिक्षा शाखा प्रमुख खेम आचार्यले नगरभित्र शिक्षक दरबन्दी मिलानको प्रक्रिया थालिएको बताए। “विभागको कार्यविधिअनुसार दरबन्दी मिलानको तयारीमा छौँ, शून्य दरबन्दी रहेका विद्यालयको समस्या अब हल हुन्छ”, उनले भने। विद्यार्थी सङ्ख्या र भूगोल दुवैलाई आधार मानेर दरबन्दी मिलान गर्ने योजनामा नगरपालिका छ । दरबन्दी मिलानमा ढिलाइ हुँदा कुनै विद्यालयमा शिक्षक कम, विद्यार्थी बढी त कतै विद्यार्थी कम, शिक्षक बढी भएको स्थिति छ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।